शुक्रबार, ३ जुलाइ, २०२६
08:59 | १३:४४

आर्थिक सम्मेलनको पूर्वसन्ध्यामा लन्डन दूतावासमा यूके नेपाल व्यापार र लगानीबारे चर्चा

नेपाली लिङ्क जुलाइ ३, २०२६

लन्डन- लन्डनस्थित नेपाली दूतावासमा यूके नेपाल आर्थिक साझेदारी सम्मेलनको पूर्वसन्ध्यामा बिजनेस एण्ड इन्भेष्टमेन्ट फोरम डिनर सम्पन्न भएको छ ।

ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) को आयोजनामा सम्पन्न कार्यक्रममा दुई देशीय व्यापार तथा लगानीका विभिन्न आयामहरुबारे चर्चा तथा अन्तरक्रिया गरियो ।

सो अवसरमा प्रमुख वक्ताका रुपमा नेपालका लागि बेलायती राजदूत रब फेन र बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले सम्बोधन गरेका थिए ।

आफ्नो सम्बोधनमा बेलायती राजदूत फेनले नेपालमा विदेशी लगानीका प्रशस्तै अवसरहरु रहेको उल्लेख गरे । बेलायती लगानीकर्ताहरुका लागि नेपाल खुला रहेको भन्दै उनले नेपालको वर्तमान नयाँ सरकारले पनि सोहिअनुसार लगानी आकर्षित र प्रोत्साहित गरिरहेको बताए ।

बेलायत र नेपालीबीचको लगानी तथा व्यापार सम्बन्ध पनि क्रमिक रुपमा बिस्तार र विकास हुंदै गएको राजदूत फेनको भनाइ थियो ।

बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाल र बेलायतबीचको लगानी तथा व्यापार सम्बन्ध बिस्तारका सम्भावनाहरु खोज्ने कोशिस गरिएको बताए ।

बेलायतमा रहेको बिजनेश कम्युनिटीलाई नेपालमा रहेका अवसरहरुसंग जोड्ने उद्धेश्यले दूतावासले आर्थिक सम्मेलनको पहल गरेको उनले बताए।

ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) अध्यक्ष विराज भट्टले नेपालमा लगानी र व्यापारका लागि प्रशस्त अवसर रहेपनि अहिलेसम्म त्यसअनुसारको उपलब्धि हासिल हुन नसकेको बताए । राजनीतिक स्थिरता र लगानीमैत्री नीतिले मात्रै लगानीकर्ताहरुलाई आकर्षित गर्न सक्ने भन्दै उनले नेपालले अहिले अवसरको सदुपयोग गर्नुपर्ने बेला आएको धारणा राखे ।

बीएनसीसी उपाध्यक्ष इन्द्र गिरीले सञ्चालन गरेको कार्यक्रममा वेष्ट लन्डन चेम्बर अफ कमर्सका सिइओ एलन राइड्स र डेपुटी चेयर डा रेनु राज, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका सिइओ स्टिभ बक्लीलगायतले पनि दुई देशबीचको आर्थिक सम्बन्ध बिस्तारका सम्भावनाहरुबारे आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा बेलायत र नेपालको व्यापार तथा लगानी क्षेत्रसंग सम्बन्धित विभिन्न सरोकारवाला व्यक्ति र संस्थाका प्रतिनिधिदेखि विभिन्न पेशा र क्षेत्रमा संलग्न विज्ञ र पेशाकर्मीहरुको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू