सोमबार, २९ जुन, २०२६
11:53 | १६:३८

इंग्ल्यान्डमा नेपाली मूलका बालक बने राष्ट्रिय डाइभिङ च्याम्पियन, जिते दुई गोल्ड मेडल

नेपाली लिङ्क जुन २९, २०२६

लन्डन- इंग्ल्यान्डमा ‘डाइभिङ’ (गोताखोरी) को राष्ट्रिय स्तरको प्रतिस्पर्धामा नेपाली मूलका एक बालकले दुई गोल्ड मेडल जितेका छन्।

लेष्टरशायरको मार्केट हार्बरोमा बस्दै आएका ११ वर्षीय सेबास्टियन कारञ्जित २०२६ स्वीम इंग्ल्यान्ड नेश्नल एज ग्रुप डाइभिङ च्याम्पियनसिपको दुई विधामा गोल्ड मेडल जित्न सफल भएका हुन्।

प्रतियोगिताअन्तर्गत १० देखि १२ वर्ष उमेर समूहमा सेबास्टियनले व्यक्तिगत ‘३ मिटर स्प्रिङबोर्ड’ र समूहमा ‘सिन्क्रोनाइज्ड डाइभिङ’ गरी दुई विधामा गोल्ड मेडल हासिल गरेका हुन्। त्यस्तै, उनले ‘प्लेटफर्म डाइभिङ’ मा सिल्भर मेडल र ‘१ मिटर स्प्रिङबोर्ड’ मा आठौं स्थान हासिल गरे।

इंग्ल्यान्डमा पौडी, डाइभिङलगायतका ‘वाटर स्पोट्र्स क्षेत्र हेर्ने सरकारी निकाय ‘स्वीम इंग्ल्याण्ड’ ले यो प्रतियोगिता आयोजना गरेको हो। जसमा भाग लिनका लागि सेबास्टियनजस्तै देशभरका डाइभिङ प्रतिभाहरु क्षेत्रीय स्तरका प्रतियोगिता जितेर ‘क्वालिफाइड’ भएका थिए ।

सेबास्टियनका पिता प्रदीप कारञ्जित छोराले राष्ट्रिय स्तरको प्रतियोगिता जितेर इंग्ल्यान्ड च्याम्पियन बनेको खुशीले दंग छन् । एनएचएस स्यान्डवेल एण्ड वेष्ट बर्मिङहममा ‘डाइरेक्टर अफ अपरेसन्स’ को जिम्मेवारीमा रहेका प्रदीपले छोराको उपलब्धिमा नेपालको समेत नाम जोडिंदा थप गौरवान्वित महसुस हुने गरेको सुनाए ।

आफ्नै दाजु निकोलसबाट प्रेरित भएर ६ वर्षको उमेरदेखि नै डाइभिङमा आकर्षित बनेका थिए सेबास्टियन । त्यसयता उनले मेहनतसाथ निरन्तर अभ्यास गर्दै कयौं क्षेत्रीय तथा राष्ट्रिय प्रतिस्पर्धामा भाग लिएर थुप्रै अवार्ड र ट्रफी जितिसकेका छन्। सेबास्टियनले कुनै दिन ओलम्पिकमै भाग लिने लक्ष्य बनाएर सोहिअनुसार मेहनत गरिरहेका छन् ।

सेबास्टियनले अहिले साताको पाँच दिन दैनिक ३ घण्टाका दरले हरेक साता जम्मा १५ घण्टा ट्रेनिङ गर्ने गरेका छन् । ट्रेनिङका लागि उनका बाबुआमाले दैनिक ३ घण्टा ड्राइभ गरेर छिमेकी सेफिल्ड शहरसम्म आउजाउ गराइरहेका छन्।

‘इंग्ल्यान्डमै पनि डाइभिङका लागि पर्याप्त पूर्वाधारहरु छैनन् । ट्रेनिङका लागि देशभरमा ८ वटा मात्रै क्लब छन् । त्यसैले छोराको ट्रेनिङका लागि हामी हरेक दिन लामो यात्रा गर्न बाध्य छौं’, पिता प्रदीपले नेपालीलिंकसग भने, ‘तर मेहनतअनुसार छोराको प्रगति भइरहेकाले हामी उत्साहित छौं । भविष्यमा कुनै दिन उसले लक्ष्य बनाएजस्तै ओलम्पिकसम्मै पुग्नेछ भन्ने आशा र विश्वास हामीले लिएका छौं ।’

अहिले कक्षा (इयर) ६ मा अध्ययनरत सेबास्टियन पढाइमा पनि निकै अब्बल छन्। उनले लगातार दुई वर्षसम्म इंग्ल्यान्डव्यापी ‘प्राइमरी म्याथमेटिक्स् च्यालेन्ज’ मा समेत गोल्ड मेडल हासिल गरेका छन्।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू