इंग्ल्याण्ड समूह विजेता बन्दै विश्वकपको नकआउट चरणमा

लन्डन – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’को अन्तिम खेलमा इंग्ल्याण्डले पनामामाथि २–० को सहज जित निकाल्दै समूह विजेताका रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा शनिबार राति सम्पन्न खेलमा इंग्ल्याण्डलाई जित दिलाउन जुड बेलिङ्घमले ६२औँ मिनेटमा पहिलो गोल गरे। त्यसको पाँच मिनेटपछि कप्तान ह्यारी केनले गोल थप्दै टोलीको जित पक्का गरेका थिए।
समूह चरणभर प्रभावशाली प्रदर्शन गरेको इंग्ल्याण्डले अपराजित रहँदै शीर्ष स्थान हासिल गरेको हो। पनामा भने तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
अब इंग्ल्याण्डले आगामी जुलाई १ मा हुने नकआउट चरण (राउन्ड अफ ३२) मा समूह ‘ई’, ‘आई’, ‘जे’ वा ‘के’ मध्ये उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ। ती समूहका अन्तिम खेलहरू सम्पन्न भएपछि इंग्ल्याण्डको प्रतिद्वन्द्वी टुंगो लाग्नेछ।
हालको समिकरणअनुसार सेनेगल, कङ्गो, अल्जेरिया वा अस्ट्रिया मध्ये कुनै एक टोली इंग्ल्याण्डको सम्भावित प्रतिद्वन्द्वी बन्न सक्छ।
उपाधिको प्रमुख दाबेदारमध्ये एक मानिएको इंग्ल्याण्डले समूह चरणमा राखेको उत्कृष्ट लय नकआउट चरणमा पनि निरन्तरता दिने अपेक्षा राखिएको छ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


