समाजसेवी दधि आचार्यले असहाय अनाथसंग मनाए आफ्नो ५० औं जन्मदिन


आचार्य आमाका साथ
लन्डन । लन्डन निवासी समाजसेवी दधि आचार्यले आफ्नो ५० औं जन्मदिनका अवसरमा नेपालका असहाय अनाथलाई भोजन गराएका छन् ।
ग्लोवल पर्वत समाजका अध्यक्ष समेत रहेका आचार्यले असहाय वृद्धवृद्धा र बालबालिकाको क्षेत्रमा काम गरिरहेका विभिन्न संस्थामा पुगेर भोजन गराएका हुन् ।
नेपाल स्नेही काख, साझा सहयात्री नेपाल, गलेश्वर ज्येष्ठ नागरिक आश्रम म्याग्दी र गुप्तेश्वर वेदवेदाङ संस्कृत पाठशाला कुश्मा पर्वतमा आश्रित असहायहरुलाई भोजन गराएको आचार्यले बताए ।
श्रीनेहा पोखरेलद्वारा स्थापित नेपाल स्नेही काखले सडकमा अलपत्र परेका, मानसिक समस्याबाट पीडित र अपहेलित महिलाहरूलाई आश्रय, उपचार र पुनर्जीवन दिइरहेको छ ।

उता गीता केसी दर्नाल अध्यक्ष रहेको साझा सहयात्री नेपाल, इमाडोल, ललितपुरले हिंसामा परेका बालिकाहरुको उचित पालनपोषण, शिक्षा र सुरक्षित आवास दिंदै आइरहेको छ । संस्थामा हाल १८ जना बालिका छन् ।
आचार्य आफ्नो मातृभूमिमै सामाजिक कार्यसहित आमाको काखमा जन्मदिन मनाउने सोचले केही दिनअघिमात्र लन्डनबाट नेपाल गएका थिए ।
जन्मदिन समारोहमा फजुल खर्चभन्दा अनाथ असहायलाई सानै भएपनि सहयोग गर्न पाउंदा आत्मसन्तुष्टि मिल्ने उनले बताए । ‘मलाई केक काटेर स्याम्पेन चिअर्सको माहोलभन्दा भोका वृद्धवृद्धा र बालबालिकाको हसिलो मुहारले आनन्द मिल्छ’, आचार्यले भने ।
लामो समयदेखि लन्डनमा बसोवासरत आचार्यले हरेक वर्ष जन्मदिन वा अन्य कुनै विशेष अवसर पारेर सामाजिक कार्य गर्दै आएका छन् ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


