बिहीबार, ११ जुन, २०२६
02:02 | ०६:४७

बेलायतमा घरधनी र भाडामा बस्नेलाई लागू भएको नयां कानूनबारे अन्तरक्रिया हुंदै

नेपाली लिङ्क जुन १०, २०२६

लन्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके राज्य समन्वय परिषद् इङ्गल्याण्डले यही सोमबार, १५ जुनमा घरधनी र भाडामा बस्नेहरूलाई भर्खरै लागू गरिएको ‘भाडा अधिकार ऐन २०२६’ को प्रभावलाई राम्रोसँग बुझ्न मद्दत गर्ने उद्देश्यले एक वेबिनार गर्ने भएको छ।

‘भाडा अधिकार ऐन २०२६ः घरधनी र भाडामा बस्नेहरूले के जान्न आवश्यक छ’ शीर्षकको अनलाइन कार्यक्रम जुम मार्फत साँझ ७ः०० बजेदेखि ८ः०० बजेसम्म हुनेछ।

वेबिनारमा ए–स्टार रियल इस्टेटका आवासीय भाडा तथा बिक्री सल्लाहकार नारायण तिमिल्सिना; लन्डनको लुमिन सोलिसिटरका सोलिसिटर रोहत कुमार; र सिभिल होम्स एस्टेट एजेन्टका निर्देशक चुरामणी रेग्मीले प्रस्तुति दिने छन् ।

सोमबार बेलुका संचालित हुने उक्त वेबिनारको सहजीकरण पत्रकार भगीरथ योगीले गर्नेछन्।

आयोजकका अनुसार उक्त वेबिनारले नेपाली समुदायका सदस्यहरू लगायत घरधनी र भाडामा बस्ने दुवैलाई यसको प्रभावको बारेमा राम्रोसँग बुझ्ने अवसर प्रदान गर्नेछ। प्यानलिस्टहरूले घरधनी र भाडामा बस्ने (टेनेन्ट) हरूका अधिकार, जिम्मेवारी र ऐनबाट उत्पन्न हुने कुनै पनि व्यावहारिक सरोकारहरूको बारेमा प्रश्नहरूको जवाफ पनि दिनेछन्।

‘हामीले थाहा पाएका छौं कि घरधनी र भाडामा बस्ने दुवैसँग नयाँ भाडा अधिकार ऐन २०२६ को बारेमा धेरै प्रश्नहरू छन्। हामी आशा गर्छौं कि हाम्रो विज्ञहरूको प्यानल सहभागीहरूका सबै प्रश्नहरूको जवाफ दिन सक्षम हुनेछ’, एनआरएनए यूके एससीसी इङ्गल्याण्डकी अध्यक्ष राममाया थापाले भनिन्।

एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले घरधनी, भाडामा बस्ने र आवास मामिलामा रुचि राख्ने जो कोहीलाई वेबिनारमा सामेल हुन र विज्ञहरुसंग प्रत्यक्ष प्रश्न सोध्न पाउने अवसरको अधिकतम फाइदा लिन आग्रह गरे ।

एनआरएनए इङ्गल्याण्डले बेलायतमा रहेका नेपाली समुदायलाई उनीहरूको दैनिक जीवनलाई असर गर्ने मुद्दाहरूमा समयमै जानकारी र सहयोग प्रदान गर्न आफूहरुले काम गरिरहने जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू