बुधबार, १० जुन, २०२६
08:56 | १३:४१

एनसीसी यूकेका १७ सदस्यले पूरा गरे ‘लन्डन टु पेरिस’ साइकलयात्रा

नेपाली लिङ्क जुन १०, २०२६


लन्डन- नेपाली साइक्लिङ क्लब यूके (एनसीसी यूके) का १७ जना सदस्यले ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा पूरा गरेका छन् ।

नेपालमा रहेका अनाथ तथा विपन्न बालिकाहरुका लागि सहयोग जुटाउन उक्त यात्रा गरिएको हो।

गत शुक्रबार, ५ जुनदेखि सुरु उक्त यात्रामा क्लबका १७ जना सदस्यले तीन दिनमा करिब ३५० किलोमिटर दूरी पूरा गरेका छन् ।

यात्रामा साइकलयात्रीहरूले उकालो, प्रतिकूल मौसम र शारीरिक थकानको सामना गर्दै लन्डनदेखि पेरिससम्मको यात्रा पूरा गरेका थिए ।

च्यारिटी साइकलयात्राको संयोजन क्लबका सदस्य एवम् ट्याक्स प्लेटफर्मका निर्देशक रवि रिमालले गरेका थिए ।

यात्रामा जलेन्द्र ताम्राकार, सुलभ पन्त, शिव सैंजु, ह्यारी गुरुङ, कौस्तुभ पौड्याल, समीर प्याकुरेल, आमोद प्रधान, हरिहर उपाध्याय, नारायण अधिकारी, अनमोल राणा, सुधीर बजिमय, लक्ष्मण गुरुङ, निक टी, प्रगति ओझा, प्रसिद्ध प्रधान र सुधिर श्रेष्ठ सहभागी थिए ।

“साढे तीनसय किलोमिटर साइकल यात्रा चुनौतीपूर्ण भए पनि असल, मानवीय उद्देश्यका लागि थालिएको अभियान भएकाले हामीलाई अभिप्रेरित गरिरह्यो,” एक जना साइकलयात्री ह्यारी गुरुङले भने।


हेल्प नेपाल बाल गृहका लागि सहयोग

हेल्प नेपाल नेटवर्कद्वारा धुलिखेलमा संचालित २२ जना बालिकाको पठनपाठन, खाना, नाना र छानाका लागि सहयोग जुटाउन उक्त साइकल यात्रा गरिएको थियो।

“तपाईंको ५ पाउण्ड सहयोगले एकजना बालिकाको एक दिनको भोजन र ५० पाउण्ड सहयोगले एक महिनाको शिक्षामा मद्दत पुग्ने छ,” हेल्प नेपाल नेटवर्क यूकेका अध्यक्ष सचिन श्रेष्ठले भने ।

उनले सहयोग संकलन जारी रहेको पनि बताए। श्रेष्ठले यो मानवीय अभियानमा सहभागी सबै साइकलयात्री मित्रहरुलाई हार्दिक धन्यवाद पनि दिए।

संकलित रकम हेल्प नेपाल बाल गृहमा अध्ययनरत बालिकाहरुका लागि पौष्टिक भोजन, पूर्णकालीन शिक्षा, स्वास्थ्य सेवा, भावनात्मक सहयोग, सुरक्षित वातावरण तथा संगीत, कला, नृत्य र खेलकुद गतिविधिमा खर्च गरिने क्लबका एक संयोजक प्रसिद्ध प्रधानले जानकारी दिए।

च्यारिटी साइकलयात्रामार्फत् बालगृहमा आश्रित बालिकाहरुको पठन पाठनमा सघाउन यो लिंकमा गएर सहयोग गर्न पनि हेल्प नेपाल नेटवर्क यूके तथा नेपाली साइक्लिङ क्लब यूके क्लबले सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू