‘भिक्टोरिया क्रस’ प्राप्त १३ भूतपूर्व गोर्खा सैनिकको सम्झनामा बेलायतमा पदयात्रा


लन्डन – आशफोर्डमा ‘गोर्खा वाक’ भव्य रुपमा सम्पन्न भएको छ । गोर्खा पिस फाउन्डेशनद्वारा ७ जुन आइतबार आशफोर्डस्थित ग्रेट चार्ट प्लेइङ्ग फिल्ड्समा आयोजित १३ औं वार्षिक गोर्खा पदयात्रामा यस पटक झन्डै ३ हजार जनाको सहभागिता रहेको फाउन्डेशनका संस्थापक अध्यक्ष भीमराज तुम्वाहाम्फेले बताए।
ब्रिटिश सेनाले प्रदान गर्ने सर्वोच्च पदक ‘भिक्टोरिया क्रस’ प्राप्त १३ जना भूतपूर्व गोर्खा सैनिकहरुको सम्झनामा उक्त पदयात्रा आयोजना गरिंदै आएको छ।
गोर्खा वाकमा नौमती बाजाका साथै साकेला नृत्य पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै आशफोर्डका सांसद सोजन जोसेफले गोर्खा समुदायको जीवन्त एकीकरण र बृहत् ब्रिटिश समाजमा अमूल्य योगदानको प्रशंसा गरे। त्यस्तै गोर्खा जस्टिस क्याम्पेनसंग आबद्ध पिटर क्यारोलले बेलायत र गोर्खाहरूबीचको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै निरन्तर सहयोग र पारस्परिक सम्मानको महत्त्वलाई जोड दिए।

गोर्खा वाकका विजेताहरुलाई पुरस्कार वितरण पछि सांस्कृतिक महोत्सव आयोजना गरिएको थियो। नेपालबाट आएका राष्ट्रिय कलाकारहरु सोनी कुँवर, नीरा थापा मगर, पूनम गुरुङ तथा गोबिन पुनले लोकप्रिय गीतहरु गाउँदै दर्शकहरुलाई नचाएका थिए भने शिवदास गुरुङ लगायतका कलाकारले नृत्य प्रस्तुत गरेका थिए।
मौसम अनुकूल नभएकाले हट एअर बलुन भने नउडाइएको आयोजकले जनाए। कार्यक्रममा सहभागिता जनाउन स्कटल्याण्डबाट बिग मोटरबाइक राइडर्सहरु पनि आएका थिए।
गोर्खा वाकका विजेताका लागि रनिङ्ग शिल्ड लगायत विभिन्न पुरष्कारको व्यवस्था गरिएको थियो । लन्डन र आशफोर्डमा कार्यालयहरु रहेको ए स्टार मोर्गेजेज लगायत विभिन्न कम्पनीले उक्त पदयात्रा प्रायोजन गरेका थिए।
अध्यक्ष तुम्वाहाम्फेले गोर्खा वाक सफल पर्न सघाउने सम्पूर्ण स्वयंसेवकहरू, प्रायोजकहरू, स्थानीय अधिकारीहरू, कलाकारहरू र १३ औं गोर्खा पदयात्रालाई अविस्मरणीय कोसेढुङ्गा बनाउने सम्पूर्ण सहभागीहरुलाई हार्दिक धन्यवाद दिएका छन् ।







सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


