गोर्खा पदयात्राको तयारी पूरा, झन्डै तीन हजार सहभागी हुने


गत वर्षको तस्विर
लन्डन – आगामी ७ जुन २०२६ (आइतबार) को दिन आशफोर्डमा हुन लागेको ‘गोर्खा वाक’ को तयारी पूरा भएको आयोजकले जनाएका छन्।
गोर्खा पिस फाउन्डेशनद्वारा आयोजना गर्न लागिएको १३ औं वार्षिक ‘गोर्खा वाक’ को तयारी करिब पूरा भएको फाउन्डेशनका संस्थापक अध्यक्ष भीम राज तुम्वाहाम्फेले बताए।
आशफोर्डस्थित ग्रेट चार्ट प्लेइङ्ग फिल्ड्समा आयोजना गर्न लागिएको गोर्खा वाक (गोर्खा पदयात्रा) मा यो वर्ष झन्डै ३,००० जनाको सहभागिता हुने आयोजकले अपेक्षा गरेका छन्।
वीरता र साहसको सम्मान गर्दै ब्रिटिश सेनाले प्रदान गर्ने सर्वोच्च पदक ‘भिक्टोरिया क्रस’ प्राप्त १३ जना भूतपूर्व गोर्खा सैनिकहरुको सम्झनामा उक्त पदयात्रा आयोजना गरिंदै आएको अध्यक्ष तुम्वाहाम्फेले बताए।
“हाम्रा नानी छोराछोरीले इतिहास बिर्सदै गए। त्यसैले इतिहासलाई जीवित राख्नु पर्छ भन्ने हिसाबले गोर्खा वाक गर्दै आएका छौं । यसबाट मानसिक र शारीरिक स्वास्थ्य लाभ त हुने नै भयो, यो कार्यक्रमबाट बेलायतमा बसोबास गरिरहेका नेपाली समुदाय र अन्य समुदायबीच समझदारी र सहकार्यमा मदत पुग्ने हाम्रो अपेक्षा छ,” उनले भने।
“यस पटकको गोर्खा वाकमा नौमती बाजा, नेपालबाट आउने राष्ट्रिय कलाकारहरु साथै हट एयर बलुन शो पनि राखिएको छ। यसपटक हामीले गोर्खा वाकलाई मेलाकै रुपमा मनाउने तयारी गरि रहेका छौं,” अध्यक्ष तुम्वाहाम्फेले भने।
उनले भूतपूर्व गोर्खा सैनिक, तिनका परिवार लगायत सबै नेपाली समुदाय र नेपालका मित्रहरुलाई गोर्खा वाकमा सहभागी हुन आमन्त्रण पनि गरे।

७ जुनमा आयोजना गर्न लागिएको गोर्खा वाकका विजेताका लागि रनिङ्ग शिल्ड लगायत अन्य पुरष्कारको पनि व्यवस्था गरिएको छ।
लन्डन र आशफोर्डमा कार्यालय रहेको ए स्टार मोर्गेजेज उक्त पदयात्राको प्रमुख प्रायोजक छ।
ए स्टार फाइनान्सियल सलुशन्स तथा ए स्टार मोर्गेजेजका प्रबन्ध निर्देशक मिन दर्लामीले ‘गोर्खा वाक’ लाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
“नेपाल तथा बेलायतबीच रहेको २०० वर्ष भन्दा लामो ऐतिहासिक सम्बन्ध र गोर्खालीहरुको योगदानको सम्झना चिरस्थायी गर्न युवा पुस्तालाई पनि सहभागी गराएर गरिने यस्ता कार्यक्रम उपलब्धिमूलक हुने हाम्रो विश्वास छ,” उनले भने ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


