विदेशमा रहेका नेपालीलाई बजेटको ‘विशेष अफर’


बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्ले
लन्डन- आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सरकारले विदेशमा रहेका नेपाली अर्थात् डायस्पोरालाई लक्षित गर्दै केही महत्वपूर्ण व्यवस्था घोषणा गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सार्वजनिक गरेको बजेटमा विदेशमा रहेका नेपालीको सीप, पुँजी र सञ्जाललाई देशको विकासमा उपयोग गर्ने नीति अघि सारेको बताएका छन् ।
संविधानले सुनिश्चित गरेको गैर-आवासीय नेपाली नागरिकतासम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरि गैर-आवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरिने बजेटमा उल्लेख छ ।
बजेटमा विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्ने उल्लेख छ । त्यसका लागि कानुनी र प्रशासनिक संरचना तयार गरिने बताइएको छ ।
विदेशस्थित नेपाली नियोगको सशक्तीकरण गरी निर्यात क्षमता, द्विपक्षीय व्यापार तथा लगानी, पर्यटन प्रवर्द्धन गर्न आर्थिक कूटनीति सबल बनाउने विषय बजेटमा समावेश गरिएको छ ।
त्यस्तै, विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै ‘डायस्पोरा बण्ड’ जारी गर्ने घोषणा गरिएको छ । नेपाली मुद्रामै लगानी गर्न सकिने यो बण्डमार्फत सरकारले विकास निर्माण र उत्पादनशील क्षेत्रमा लगानी भित्र्याउने लक्ष्य राखेको छ ।
बजेटमा गैरआवासीय नेपालीलाई नेपालको सेयर बजारको दोस्रो बजारमा सहभागी गराउने व्यवस्था पनि अघि सारिएको छ । विदेशी लगानी स्वीकृति, नाफा फिर्ता, पूँजीगत लाभकर लगायतका कानुनी व्यवस्थामा संशोधन गरी लगानी सहज बनाइने सरकारको योजना छ ।
यति मात्र होइन, नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई पनि थप सहज बनाइने घोषणा गरिएको छ । विदेशमा रहेका नेपालीलाई केवल रेमिटेन्स पठाउने स्रोतको रूपमा होइन, सीप, ज्ञान, नेटवर्क र लगानीका साझेदारका रूपमा उपयोग गर्ने नीति लिइएको छ ।
त्यस्तै, वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र श्रमिकमैत्री बनाउन ‘जिरो कस्ट माइग्रेसन’ अर्थात् कामदारमाथि पर्ने खर्च घटाउने नीति अघि सारिएको छ । विदेश जान चाहने नेपालीलाई आवश्यक सीप तालिम तथा दक्ष जनशक्ति उत्पादनमा बजेटले जोड दिएको छ ।
विदेशमा समस्यामा परेका वा अलपत्र परेका नेपाली श्रमिकको उद्धार र सहयोगका लागि विशेष कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


