सोमबार, २५ मे, २०२६
10:08 | १४:५३

स्कटल्याण्डमा आयोजित बाल साहित्य गोष्ठीमा १६ नेपाली बालबालिकाले वाचन गरे कविता

नेपाली लिङ्क मे २५, २०२६

लन्डन । स्कटल्याण्डको एवर्डिन शहरमा आइतबार बाल साहित्य गोष्ठी भएको छ । नेपाली साहित्य विकास परिषद् यूके, द पोइट्री ग्रुप एवर्डिन, नेप्लिज हिमालयन एसोसिएसन स्कट्ल्याण्ड र अर्गनाइजेशन फर नेपलिज कल्चर एण्ड वेलफेयर (ओएनसीडब्लु) गरी चारवटा संस्थाको संयोजनमा दोश्रो बाल साहित्य गोष्ठी उत्साहवर्धक रुपमा भएको हो ।

उक्त गोष्ठीमा १६ जना बाल कवि कवयित्रीले भाग लिए जसमा प्रनिस तिमल्सिन्ना, सुभश्री रेग्मी, आएन घिमिरे, अरिना लामिछाने, एभिगेल थापा, साइरा पहारी, किर्तीका भेटुवाल, एन्जेल अर्याल, गिरिसा गौतम, एन्जीला सुवेदी, सर्विन क्षेत्री, सिनिग्धा अर्याल, नमन रिजाल, आभना कार्की र अक्क्षा न्यौपाने थिए भने आरुस मल्लले नृत्य गरे ।

ति बालबालिकालाई परिषदद्वारा सन् २०२० मा स्थापना गरिएको एनएलडिसी बाल साहित्य प्रोत्साहन पदक तथा प्रमाणपत्र प्रदान गरियो । परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्ल, नवीन के क्षेत्री, प्रकाश अर्याल र रामराज पहारीले पदक तथा प्रमाणपत्र प्रदान गरेका हुन् ।

एवर्डिनस्थित स्थानीय कम्युनिटी हलमा आयोजित बाल साहित्य गोष्ठीलाई सम्वोधन गर्दै नेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष मल्लले बेलायतका नेपाली बालबालिकालाई क्रमशः नेपाली भाषा, साहित्य, संस्कृतिप्रति अभिरुचि र आकर्षण बढाउँदै लैजाने उद्धेश्यले गोष्ठी गरिएको प्रष्टयाए । उनले बेलायतका विभिन्न शहरमा अवस्थित नेपाली संघसंस्थाहरूसँग मिलेर परिषद्ले बाल साहित्य गोष्ठी आयोजना र पदक पुरस्कारहरूद्वारा प्रोत्साहन गर्ने गरेको बताए ।

परिषद्का संस्थापक वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले सन् १९९५ मा नै बेलायतमा नेपाली भाषा, साहित्य र संस्कृति जस्ता नेपाली पहिचान र परिचयहरू मेटिन नदिन र भावी सन्ततिलाई समेट्दै लैजान पनि परिषद्को स्थापना गरेको स्मरण गर्दै अध्यक्ष मल्लले यस प्रकारका कार्यक्रमले नेपाली बालबालिकामा विदेशमा आफ्नो भाषा, साहित्य, संस्कृति आदि नेपाली पहिचानप्रति सकारात्मक सोच र स्नेह जगाएको उल्लेख गरे । मल्लले यसअघि यस्ता बाल साहित्य गोष्ठी लन्डन, वकिङ्स्टोक र रिडिङमा सम्पन्न गरिसकिएको र निरन्तर गरिरहने बताए ।

बाल कवि गोष्ठी सह-आयोजक रामराज पहारीले संस्थाका पदाधिकारी र सहभागी बालबालिका एवं अभिभावकहरूमा संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

द पोइट्री ग्रुप एवर्डिनका संयोजक नवीन के क्षेत्रीले बेलायतको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले बेलायतमा नेपाली भाषा साहित्यको फाँटमा नेतृत्वदायी अग्रणी भूमिका निर्वाह गरिरहेको बताउंदै केही वर्ष अघि पनि परिषद्सँगै संयोजन गरेर यस्तै साहित्य गोष्ठी सम्पन्न गरेको बताए ।

साहित्यको क्षेत्रमा ठूला साना सबैको अभिरुचि बढोस् र केही सिर्जना हुन सकोस् भन्ने उद्धेश्यले द पोइट्री ग्रुप एवर्डिनले हरेक महिना साहित्यक गतिविधि गर्दै आएको बताए ।

स्वागत मन्तव्य दिंदै नेप्लिज हिमालयन एसोसिएसन स्कटल्यण्डका अध्यक्ष रामराज पहारीले विदेशमा नेपालप्रतिको माया र नेपाली पहिचान जीवन्त राख्दै जाने दायित्व यिनै बालबालिकाको भएकाले अग्रजहरुले नेपाली भाषा, साहित्य र संस्कृतिका कार्यक्रममा बाल सहभागिता बढाउँदै लैजान आवश्यक रहेकोमा जोड दिए । स्कटल्यण्डमा रहेका नेपाली जनसमुदायबीच आपसी सहयोग र सद्भाव बढाउने कार्यमा नेप्लिज हिमालयन एसोसिएसन सकृय रूपले लागिरहेको उनको भनाइ थियो ।

कार्यक्रमम ओएनसीडब्लुका अध्यक्ष प्रकाशराज अर्यालले अचेल नेपाली बालबालिकामा कविता लेख्न र बाल साहित्य गोष्ठीमा भाग लिन उत्साह र कौतुहलता बढेको बताए ।

राष्ट्रिय गान र दीप प्रज्वलनबाट आरम्भ गरिएको समारोहमा अन्य विभिन्न व्यक्तिले मन्तव्य दिएका थिए ।

कार्यक्रम परिषदका अध्यक्ष मल्लको सभापतित्वमा भएको हो । कार्यक्रममा परिषदको तर्फबाट मल्लले अतिथीहरुलाई खादा, टोपी लगाउनुका साथै मायाको चिनो र स्मारिका प्रदान गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू