बेलायतको स्थानीय निर्वाचनः रिफर्म यूकेको अग्रता, लेबरलाई ठूलो धक्का

लन्डन । बेलायतका तीन राज्य इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा भएको स्थानीय निर्वाचनको मतगणना सुरु भएको छ ।
१३६ स्थानीय काउन्सिलका ५ हजार १४ सिटका लागि बिहीबार राति १० बजे मतदान सम्पन्न भएपछि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार नाइजेल फराज नेतृत्वको रिफर्म यूकेले बलियो अग्रता बनाएको छ ।
शुक्रबार मध्यरातसम्मको नतिजाअनुसार रिफर्म यूकेले १४२८ सिट जितेको छ । सत्तारुढ लेबर पार्टीले ९५५, लिब्डेमले ८३२, कन्जरभेटिभले ७७३ र ग्रीन पार्टीले ५०८ सिट जितेका छन् ।
मतगणना अझै जारी छ । नतिजाले प्रधानमन्त्री केयर स्टारमर नेतृत्वको सत्तारुढ लेबर पार्टीलाई ठूलो धक्का पुग्ने संकेत गरेको छ । स्टारमरले लेबर पार्टीको हारको जिम्मेवारी लिएका छन् ।
उता, रिफर्म यूकेका नेता नाइजेल फराजले पूर्वी लन्डनमा पत्रकारहरूसँग कुरा गर्दै इंग्ल्याण्डको नतिजाले वास्तविक ‘ऐतिहासिक परिवर्तन’ देखाएको बताएका छन् । उनलाई पार्टी समर्थकहरूले न्यानो स्वागत गरेका थिए ।
बेलायतको स्थानीय निर्वाचनको नतिजाले राष्ट्रिय राजनीतिमा समेत नयाँ बहस सुरु गराएको छ ।
रिफर्म यूकेको उदय, लेबरको अपेक्षाकृत कमजोर प्रदर्शन र कन्जरभेटिभको निरन्तर दबाबबीच यो निर्वाचन बेलायती राजनीतिक परिदृश्यका लागि महत्वपूर्ण मानिएको छ ।
वेल्समा पनि सत्तारुढ लेबरले नराम्रो पराजय भोग्नु परेको छ । वेल्समा लेबरले २७ वर्षको आफ्नो पकड गुमाएको छ । उता, स्कटिस नेशनल पार्टी सबैभन्दा ठूलो दल बन्ने देखिएको छ ।
स्कटल्याण्ड र वेल्सका मतदाताले आफ्नो राष्ट्रिय संसदका लागि प्रतिनिधि चयन गर्नेछन् भने इंग्ल्याण्डका विभिन्न काउन्सिलमा काउन्सिलर तथा मेयर चयन हुनेछन् ।
नेपाली मूलका उम्मेदवारहरूको उपस्थिति उल्लेख्य
यसपटकको निर्वाचनमा नेपाली मूलका उम्मेदवारहरूको उपस्थिति पनि उल्लेख्य छ । लेबर, कन्जरभेटिभ, लिबरल डेमोक्र्याट, ग्रिन तथा जेरेमी कोर्बिन नेतृत्वको योर पार्टीबाट समेत उम्मेदवारी परेकाले नेपाली मूलका उम्मेदवारको संख्या डेढ दर्जन बढी पुगेको छ ।
अनुमानित डेढ दर्जन बढी नेपाली मूलका उम्मेदवारमध्ये धेरै काउन्सिलर पदमा निर्वाचित हुंदा केही पराजित भएका छन्।
शुक्रबार अपरान्हसम्म हामीलाई प्राप्त सूचनाअनुसार लन्डन रोयल ग्रीनवीच बरोको प्लमस्टेड एन्ड ग्लिन्डनमा पूर्व मेयर जीत रानाभाट काउन्सिलर निर्वाचित भएका छन् । रानाभाट १६१० मत प्राप्त गरी निर्वाचित भएका हुन्।
सन् २०२२ मा पहिलोपटक काउन्सिलर निर्वाचित उनले यसअघि उक्त बरोको मेयर तथा सोही बरोको मेयर तथा उपमेयर जिम्मेवारी सम्हालिसकेका छन् ।
सोही बरोकै एबिउड वार्डमा रानाभाट पत्नी गौमाया गुरुङ रानाभाट समेत पहिलोपटक काउन्सिलर निर्वाचित भएकी छन् । रानाभाट दम्पत्ति दुवै लेबर पार्टीका हुन् ।
उता, अल्डरसटका रश्मोर बरोअन्तर्गत म्यानर पार्क वार्डमा जीव नारायण बेल्वासे र वेलिङटन वार्डमा पूर्व गोर्खा उत्तरबहादुर गुरुङ काउन्सिलर निर्वाचित भएका छन् ।
कञ्जरभेटिभ पार्टीका उम्मेदवार बेल्वासे दोस्रोपटक तथा लेबर उम्मेदवार गुरुङ पहिलोपटक काउन्सिलर निर्वाचित भएका हुन् ।
गएको झन्डै २५ वर्ष देखि सामुदायिक सेवामा संलग्न बेल्वासेले स्थानीय प्रहरी, रश्मोर बरो काउन्सिल, सिटिजन्स एडभाइस ब्युरो, रश्मोर भोलन्टियर सर्भिसेज, रश्मोर फायर एण्ड रेस्क्यू सर्भिसेज, प्राइमरी केयर नेटवर्क लगायत संस्थामा सेवा गरेका थिए ।
ग्रेटर रश्मोर नेपाली कम्युनिटी अध्यक्ष भइसकेका बेल्वासेले एनआरएनए यूकेमा पनि काम गरिसकेका छन्। रश्मोर भोलन्टियर सर्भिसेज तथा ह्याम्पशायर शेरिफ अवार्डबाट सम्मानित बेल्वासे बीबीसी कम्युनिटी हिरो अवार्डका लागि संक्षिप्त सूची (सर्ट लिस्ट) मा पनि परेका थिए ।
त्यसैगरी, रेडिङ बरोको ब्याटल वार्डबाट पनि लेबर पार्टीकी उम्मेदवार प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित भएकी छन्। उनी रेडिङ बरोमै नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलर बनेकी छन्।
साथै, कन्जरभेटिभ पार्टीका लक्ष्य गुरुङ लन्डन बरो अफ बार्नेटको एड्जवेरवरी वार्डबाट तेस्रो पटक काउन्सिलर पदमा निर्वाचित भएका छन् । लेबर पार्टीका तर्फबाट पूर्व काउन्सिलर कमल गुरुङ लन्डन बरो अफ बार्नेटकै बर्न्टओक वार्डमा काउन्सिलर निर्वाचित भएका छन् ।
(निर्वाचन परिणाम अपडेट गरिएको छ)
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



