बिहीबार, ७ मे, २०२६
08:58 | १३:४३

चिकित्सकमाथि कारबाही विभेदपूर्ण भन्दै बेलायतका नेपाली चिकित्सकहरूको आपत्ति

नेपाली लिङ्क मे ७, २०२६


लण्डन । नेप्लिज डक्टर्स एशोसिएशन (एनडीए) यूकेले नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले विदेशी नागरिकता लिएका गैरआवासीय नेपाली चिकित्सक तथा दन्त चिकित्सकहरूको नाम दर्ता खारेज गरेको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।

संस्थाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विदेशी नागरिकता प्राप्त गरेको आधारमा मात्र चिकित्सक तथा दन्त चिकित्सकको दर्ता खारेज गर्नु “विभेदपूर्ण” कदम भएको उल्लेख गरेको हो।

साथै प्रभावित चिकित्सकहरूको पहिचान सार्वजनिक गरिएको विषयलाई पनि संस्थाले व्यावसायिक गोपनीयता र कानुनी प्रक्रियाविपरीत भएको जनाएको छ।

उक्त निर्णयले न्यायिक प्रक्रिया कमजोर बनाउनुका साथै नेपाल र विश्वभर रहेका नेपाली चिकित्सकबीचको सहकार्यमा नकारात्मक असर पार्ने एनडीए यूकेको ठहर छ ।

विज्ञप्तिमा एनआरएन चिकित्सकहरूले वर्षौंदेखि नेपालमा स्वास्थ्य सेवा, तालिम तथा मानवीय सेवामार्फत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरिएको छ।

एशोसिएशनले प्रभावित व्यक्तिहरूको नाम सार्वजनिक गर्नु गोपनीयता उल्लंघन भएको भन्दै यसले नेपाल मेडिकल काउन्सिलप्रति विश्वास कमजोर बनाउने र गलत नजिर स्थापित गर्ने चेतावनी दिएको छ।

एनडीए यूकेले नेपाल मेडिकल काउन्सिल तथा सम्बन्धित निकायलाई तत्काल उक्त निर्णय पुनर्विचार गर्न, स्पष्ट तथा कानुनी आधार प्रस्तुत गर्न, एनआरएन स्वास्थ्यकर्मीसँग संवाद तथा अन्तर्राष्ट्रिय अनुभवलाई सम्मान गर्ने समावेशी नियामक व्यवस्था विकास गर्न आग्रह गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू