लन्डन वुल्वीचको माया दिदी रेष्टुरेन्टलाई बेलायतको प्रतिष्ठित करी अवार्ड


लन्डन- साउथ इष्ट लन्डनको वुल्लीचमा रहेको लोकप्रिय नेपाली रेष्टुरेन्ट ‘माया दिदी’ ले फेरि बेलायतको प्रतिष्ठित करी अवार्ड जितेको छ।
सोमबार बेलायतको रेडिङस्थित क्राउन प्लाजा होटलमा सम्पन्न पहिलो साउदर्न करी अवार्डमा माया दिदीले पिपल्स च्वोइस अवार्ड प्राप्त गरेको हो।
लन्डन करी अवार्डसहित वर्षेनी संसारभर सयौं प्रतिष्ठित अवार्डहरु आयोजना गर्दै आएको ‘ओसिअनिक कन्सल्टिङ एन्ड इलाइट इभेन्ट्स’ ले पहिलोपटक साउथ इंग्ल्यान्डमा यो अवार्ड आयोजना गरेको थियो ।
साउथ इंग्ल्यान्डभर रहेका सयौं करी रेष्टुरेन्टहरुबाट छानिएर पिपल्स च्वोइस अवार्डका लागि मनोनयनमा परेका केही रेष्टुरेन्टहरुमध्ये पनि उत्कृष्ट बन्दै माया दिदी यो अवार्ड जित्न सफल भएको हो ।
अवार्ड वितरणका लागि आयोजित भव्य समारोहमा माया दिदी रेष्टुरेन्टकी सञ्चालक शैलजा आचार्य (माया दिदी) सहितको टीमले अवार्ड ग्रहण गरेको थियो।
बेलायतकै लोकप्रिय नेपाली रेष्टुरेन्टमध्ये एक माया दिदीले यसअघि सन् २०२२ मा पनि ‘बेस्ट नेप्लिज करी रेष्टुरेन्ट अफ द् इयर’ विधामा प्रतिष्ठित लन्डन करी अवार्ड प्राप्त गरेको थियो ।
सन् २०१४ मा स्थापना भएको रेष्टुरेन्टलाई सञ्चालक माया दिदीले श्रीमान गोकुल श्रेष्ठ र परिवारसमेतको सहयोगमा सफलतापूर्वक सञ्चालन गर्दै आएकी छन् ।
नेपालका लोकप्रिय स्ट्रिट फुड आइटमहरुदेखि घरघरका चुल्होमा पाक्ने परिकार र रेष्टुरेन्टहरुमा पाइने ‘फेभरेट डिस’ हरुसम्मको विविधता माया दिदीको मेन्यूमा छ ।
ताजा र मौलिक नेपाली स्वादका साथै घरकै पाहुनालाई जस्तो पारिवारिक वातावरणमा प्रदान गरिने न्यानो आतिथ्यलाई ग्राहकले विशेष रुचाउने गरेका छन्।
साउर्दन करी अवार्ड प्राप्त गरेपछि रेष्टुरेन्ट सञ्चालक माया दिदीले यसको सम्पूर्ण श्रेय आफ्ना ग्राहक र स्टाफलाई दिंदै आभार प्रकट गरेकी छन्। आगामी दिनमा पनि ग्राहकको सन्तुष्टि र गुणस्तरलाई लक्ष्य बनाएर नेपाली परिकारहरुको मौलिक स्वाद पस्किंदै जाने अठोट उनको छ ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


