गुल्मी जिल्ला समाज यूकेमा पहिलो महिला अध्यक्ष, यस्तो बन्यो मञ्जु नेतृत्वको टीम


नवनिर्वाचित कार्यसमिति
लन्डन– बेलायतको नेपाली समुदायको अग्रणी सामाजिक संस्था गुल्मी जिल्ला समाज यूकेको नेतृत्व मञ्जु भण्डारी खरेलको काँधमा आएको छ।
आइतबार अल्डरसटमा सम्पन्न समाजको आठौं अधिवेशनले उनको नेतृत्वमा समाजको नवौं कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेको हो ।
सन् २००७ मा स्थापित समाजले पहिलोपटक महिला नेतृत्व चयन गर्दै भण्डारीलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।
समाज स्थापनाकालदेखि नै विभिन्न भूमिकामा रहेर सक्रिय रहंदै आएकी उनले यसअघि समाजको उपाध्यक्ष, महासचिव, सचिव, प्रवक्तालगायतका महत्वपूर्ण जिम्मेवारी वहन गरिसकेकी छन् ।
आगामी दुई वर्षका लागि निर्वाचित कार्यसमितिमा क्या. ताम ढेगा र डा. विष्णु घिमिरे उपाध्यक्ष, महलाल घिमिरे महासचिव, राधा खरेल सचिव, अर्जुन बस्नेत कोषाध्यक्ष र माया केसी सह–कोषाध्यक्ष निर्वाचित भए भने प्रवक्ताको जिम्मेवारी सुरेश केसीले पाएका छन्।
कार्यसमितिको सांस्कृतिक सचिवमा दीपक थापा मैथाने तथा सदस्यहरुमा मेजर बुद्धि भण्डारी, सूर्यविक्रम केसी, वासुदेव पोखरेल, लक्ष्मण पौडेल, रामप्रसाद पन्थी, पुण्डरी अर्याल, हिरा सापकोटा, हरिप्रसाद अर्याल, वसन्त खनाल, विश्वप्रताप सिंह, सुधिर गौतम र गीता काफ्ले निर्विरोध निर्वाचित भएका छन्।
समाजका सल्लाहकार मीन दर्लामीको संयोजकत्वमा मतिप्रसाद पुन र राजेन्द्र श्रेष्ठ सम्मिलित निर्वाचन समितिले नवनिर्वाचित कार्यसमिति घोषणा गर्दै शपथग्रहण गराएको थियो।
नवनिर्वाचित कार्यसमितिलाई समाजका संस्थापक अध्यक्ष ओमप्रसाद काउचा, पूर्व अध्यक्षहरु अर्जुन गौतम, राम गलामी, टोप पल्ली, वीर बलाल, निवर्तमान अध्यक्ष रुद्र थापालगायतले बधाई तथा शुभकामना दिंदै आवश्यक सहयोगको प्रतिवद्धता जनाए।
त्यस्तै, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, नेपालबाट आएका राजनीतिज्ञ एवम् समाजसेवी सुरेशचन्द्र भुषाल, समाजका सल्लाहकारहरु विनोद ज्ञवाली, कृष्ण भण्डारीलगायतले पनि नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए।

नवनिर्वाचित अध्यक्ष मञ्जु भण्डारी खरेल
नवनिर्वाचित अध्यक्ष मञ्जु भण्डारी खरेलले अग्रजले देखाएको बाटोलाई पछ्याउँदै बेलायतवासी सबै गुल्मेलीहरुको साझा संस्थाका रुपमा समाजलाई अघि बढाउने प्रतिवद्धता जनाइन्।
बेलायतमा समाजको आफ्नै घर निर्माण गर्ने गुल्मेलीहरुको सपनालाई प्राथमिकतामा राखेर कार्यान्वयनमा लैजान कोशिस गर्ने उनले बताइन् । संस्थामा नयाँ पुस्ताको सहभागिता बढाउनेदेखि आजीवन सदस्यहरु बिस्तारसम्मका योजना अध्यक्ष भण्डारीले सुनाइन्।
आफूलाई सर्वसम्मत रुपमा संस्थाको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गर्ने सबै अग्रज, सल्लाहकार तथा सिंगो समाजप्रति आभार प्रकट गर्दै उनले सबैको सल्लाह र सुझावलाई आत्मसात गर्दै अघि बढ्ने प्रतिवद्धता जनाइन्।
यसअघि समाजका निवर्तमान अध्यक्ष रुद्र थापाको अध्यक्षतामा सम्पन्न अधिवेशनको पहिलो सत्रमा महासचिव महलाल घिमिरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष तेजप्रसाद श्रीषको आर्थिक प्रतिवेदन तथा विधान समिति संयोजक केशव भण्डारीको विधान शंसोधनसम्बन्धि प्रस्ताव छलफलपछि पारित गरिएको थियो। ट्रष्टी समितिका तर्फबाट संयोजक राम गलामीले हालसम्मको प्रगति विवरण पेश गरे।
महासचिव महलाल घिमिरेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष मुकुन्दहरि खरालले स्वागत मन्तव्य दिएका थिए । सो अवसरमा समाजलाई विभिन्न रुपमा योगदान गर्नेहरुलाई निर्वाचन समितिको तर्फबाट सम्मान गरिएको थियो ।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


