बेलायतमा आतंकवादी खतरा ‘गम्भीर’ स्तरमा, आक्रमणको सम्भावना उच्च


लन्डन- बेलायतमा आतंकवाद सम्बन्धी खतराको स्तर ‘सिभियर’ अर्थात् ‘गम्भीर’ रहेको घोषणा गरिएको छ । जसले गर्दा यहाँको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ ।
बुधबार लन्डनमा भएको चक्कु आक्रमणपछि बेलायतमा आतंकवादी आक्रमण हुन सक्ने सम्भावना उच्च रहेको घोषणा गरिएको हो ।
विशेषज्ञहरूका अनुसार ‘सिभियर’ स्तर भनेको जीवन ठप्प हुने अवस्था होइन । तर जोखिम वास्तविक र नजिक रहेको संकेत हो ।
लण्डनको गोल्डर्स ग्रीन क्षेत्रमा बुधबार भएको चक्कु प्रहारको घटनामा दुई व्यक्ति घाइते भएका छन्, जसमा एक जनाको अवस्था गम्भीर छ ।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको छ र आक्रमणको उद्देश्य तथा संलग्न व्यक्तिहरूको पृष्ठभूमि खोतल्ने काम जारी छ ।
तर, सुरक्षा खतरा स्तर बढाउनुको कारण केवल यो घटना मात्र होइन । पछिल्ला केही हप्ता यता बेलायतका विभिन्न स्थानमा यस्ता घटनाहरू दोहोरिँदै आएका छन् ।
लण्डनमै यसअघि पनि छुट्टाछुट्टै चक्कु आक्रमणका घटना भएका थिए । त्यस्तै, बर्मिङघममा सार्वजनिक स्थानमा भएको आक्रमणले स्थानीय सुरक्षा चिन्ता बढाएको थियो भने म्यानचेस्टर क्षेत्रमा पनि हिंसात्मक गतिविधिसँग सम्बन्धित घटनाहरूले प्रहरीलाई सतर्क बनाएको थियो ।
अझै महत्त्वपूर्ण कुरा के छ भने यीमध्ये केही घटनाहरू ‘लोन–वुल्फ’ अर्थात् एक्लै आक्रमण गर्ने व्यक्तिहरूसँग सम्बन्धित देखिएका छन्, जसले सुरक्षा निकायका लागि चुनौती थपिएको छ ।
केही घटनामा आक्रमणकारी चरमपन्थी विचारधाराबाट प्रभावित भएको आशंका पनि गरिएको छ ।
यी सबै घटनाहरूलाई समग्र रूपमा विश्लेषण गर्दै बेलायती सुरक्षा निकायहरूले खतरा स्तर ‘सिभियर’मा पुरयाउने निर्णय लिएका हुन् ।
बेलायती गृहमन्त्रालयका अनुसार देशभर सुरक्षा सतर्कता बढाइएको छ । प्रहरी गस्ती व्यापक बनाइएको छ, भीडभाड हुने क्षेत्रहरूमा निगरानी कडा पारिएको छ र गुप्तचर संयन्त्रलाई उच्च सक्रिय अवस्थामा राखिएको छ ।
सरकारले स्पष्ट रूपमा भनेको छ—सतर्कता आवश्यक छ, तर डराउनुपर्ने अवस्था छैन । नागरिकहरूलाई कुनै पनि शंकास्पद गतिविधि तुरुन्तै रिपोर्ट गर्न, सार्वजनिक स्थानमा सजग रहन, र अफवाहबाट टाढा रहन आग्रह गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


