नेपाली विद्यार्थीका अवस्था बुझ्न बेलायती विश्वविद्यालय पुगे कार्यवाहक राजदूत दुवाडी

लन्डन- बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाली विद्यार्थी अध्ययनरत उत्तरी वेल्सको १४२ वर्ष पुरानो ब्यांगोर विश्वविद्यालय भ्रमण गरेका छन् ।
मंगलबार कार्यवाहक राजदूत दुवाडीले उक्त विश्वविद्यालयका उपकुलपति (भाइस चान्सलर) प्राध्यापक एडमण्ड बर्क एवं डेपुटी भाइस चान्सलर प्रोफेसर एन्ड्रयू एडवार्डस्संग भेटवार्ता गरि नेपाली विद्यार्थीको अवस्थाबारे जानकारी लिए ।
भेटवार्ताका क्रममा दुवाडीले त्यहां अध्ययनरत नेपाली विद्यार्थीको अवस्थाबारे चासो व्यक्त गर्दै विभिन्न सुझाव समेत दिएका थिए ।
पछिल्लो समय बेलायतका केही विश्वविद्यालयले नेपाली विद्यार्थीलाई सहयोगको सट्टा झन् सास्ती दिएको प्रसंग उठाउंदै उनले ब्यांगोर विश्वविद्यालयबाट कुनै गुनासो नआएको भन्दै आभार व्यक्त गरे ।
कार्यवाहक राजदूत दुवाडीले अण्डर ग्रयाजुएट अध्ययनका लागि बेलायत आएका नेपाली विद्यार्थीले धेरै दुःख सामना गर्नु परेको उल्लेख गर्दै उक्त विश्वविद्यालयलाई पोष्ट ग्रयाजुएट कोर्षमा बढी फोकस गर्न सुझाव समेत दिए ।
उनले विश्वविद्यालय व्यवस्थापनलाई नेपाली विद्यार्थीको हकहित र कल्याणमा ध्यान दिन पनि आग्रह गरे ।
सो क्रममा भाइस चान्सलर प्राध्यापक बर्कले नेपाली विद्यार्थी अनुशासित, इमान्दार र मेहनती भएको उल्लेख गर्दै आफ्नो विश्वविद्यालयले अझ धेरै नेपाली विद्यार्थी स्वागत गर्न आतुर रहेको बताए । नेपाली विद्यार्थीका समस्या र चाहना पूरा गर्न विश्वविद्यालय व्यवस्थापन सदैव तत्पर रहेको समेत बर्कले बताए ।
उक्त भेटमा विश्वविद्यालयकी ग्लोवल इन्गेजमेन्ट डिरेक्टर सर्जिन मोनप्ले, इन्टरनेशनल रिक्रुटमेन्ट डेपुटी डिरेक्टर क्यारोलिन रुसिंग्वा, भक्तपुर ठिमीका मेयर सुरेन्द्र श्रेष्ठ लगायत पदाधिकारीहरुको सहभागिता थियो ।
विभिन्न समसामयिक कुराको बारेमा जानकारी पाएको भन्दै धन्यवाद व्यक्त गर्नु भएको थियो।
सो अवसरमा कार्यवाहक राजदूत दुवाडीले विश्वविद्यालयको भौतिक संरचना अवलोकन तथा विद्यार्थीलाई प्राप्त सुविधाबारे जानकारीसमेत लिएका थिए ।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


