लन्डन म्याराथनमा दौडिएर च्यारिटी कर्म

लन्डन– नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आएको कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कको सहयोगार्थ नेटवर्क यूके अध्यक्ष सचिन श्रेष्ठ तथा हरिहर उपाध्याय लन्डन म्याराथनमा दौडिएका छन्।
दुवै जनाले आइतबार (२६ अप्रिल) लन्डनमा आयोजित म्याराथन सफलतापूर्वक पूरा गरे ।
हेल्प नेपाल नेटवर्कले धुलिखेलमा सञ्चालन गरिरहेको बाल गृह तथा मुगु मुर्मामा सञ्चालन गरिरहेको हेल्थ पोस्टको सहयोगार्थ आफूले म्याराथनमा भाग लिएको श्रेष्ठले बताए ।
त्यस्तै ६६ वर्षीय हरिहर उपाध्यायले आफूले संकलन गरेको रकम धुलिखेलस्थित बाल गृहका लागि पठाउने जनाए ।
सन् १९९९ मा बेलायतमा स्थापित नेटवर्कका झन्डै एक दर्जन मुलुकमा शाखा छन् भने नेपालमा केन्द्रीय कार्यालय छ ।
‘मातृभूमिका लागि महिनामा एक पाउण्ड-एक डलर’ भन्ने नारासहित सन् १९९९ मा बेलायतबाट हेल्प नेपाल नेटवर्कको स्थापना गरिएको थियो ।
नेटवर्कले नेपालका एक सय बढी स्कुलमा कक्षा कोठा निर्माण तथा झन्डै ५० वटा इ–लाइब्रेरी स्थापना गर्नुकासाथै सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाहरूमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरूको पुनर्निर्माणमा पनि सघाएको छ ।
नेटवर्कले सन् २००४ मा विकट मुगु जिल्लाको मुर्मामा स्थापना गरेको हेल्प नेपाल हेल्थ पोष्टले स्थानीय समुदाय तथा पदयात्रीहरूलाई गएको २० वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
त्यस्तै सन् २०१४ देखि धुलिखेलमा संचालित हेल्प नेपाल बालगृहमा कमजोर आर्थिक पृष्ठभूमिका २३ जना बालिका पठनपाठन गरिरहेका छन् ।
सन् २०१५ को महाभूकम्प, जाजरकोट भूकम्प तथा देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा आगलागी पीडितहरूलाई पनि नेटवर्कले मानवीय सहायता पुर्याउँदै आएको छ ।
यी लिंकहरुमा गएर सक्दो सहयोग गर्न नेटवर्कले आग्रह गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


