सोमबार, २७ अप्रिल, २०२६
01:54 | ०६:३९

लन्डन म्याराथनमा भाग लिएका धावकहरुलाई दूतावासमा सम्मान

नेपाली लिङ्क अप्रिल २६, २०२६

लन्डन । लन्डन म्याराथनमा भाग लिएका धावकहरुलाई लन्डनस्थित नेपाली दूतावास र नेपाल रन यूकेले स्वागत सम्मान गरेका छन् ।

आइतबार सांझ दूतावासमा आयोजित एक समारोहमा कार्यवाहक राजदूत विपिन दुवाडी, नेपाल रन यूकेका सन्तोष राई एवं पाण्डव महतोले धावकहरुलाई सम्मान गरे ।

सम्मानका क्रममा कार्यवाहक राजदूत दुवाडीले सबैलाई बधाई दिंदै नेपाल रन यूकेले नेपाली समुदायमा स्वास्थ्य सचेतनामात्र नभइ च्यारिटी समेत गरेर प्रशंसनीय कार्य गरेको बताए ।

उनले दौड बिना मानिसको जीवन अधुरो हुने बताउंदै आफ्नो स्वास्थ्य ख्याल गर्न पनि सुझाए । ‘जीवन आफैंमा दौड हो सधैं हस्याङ फस्याङ । तर दौड्न छाड्नु हुन्न’, उनले भने ।

नेपाल रन यूके संस्थापक एवं कोच सन्तोष राईले स्वयंसेवकहरुलाई विशेष धन्यवाद दिंदै नयां रेकर्ड राखेका र सहभागिता जनाएका सबै धावकहरुलाई बधाइ दिए ।

सो अवसरमा नेपाल रन यूकेका सचिव तथा संस्थापक डा. जगन कार्कीले संस्थाका परोपकारी तथा दौड कार्यक्रमबारे जानकारी दिएका थिए ।

धावक, स्वयंसेवक र अन्य गरि करिब एक सय सहभागी उक्त कार्यक्रममा रात्रीभोज समेत व्यवस्था गरिएको थियो ।

४६ औं लन्डन म्याराथन नयां रेकर्ड कायम गर्दै आइतबार सम्पन्न भएको छ ।

विश्वको सबैभन्दा प्रतिष्ठित र समावेशी खेलकुद इभेन्टमध्ये एक लन्डन म्याराथनमा यस वर्ष ५९ हजार बढी धावकले २६.२ माइल (४२.२ किमी) लामो दौड पूरा गरे ।

यसपटकको म्याराथनमा नेपालीहरुले समेत उत्साहजनक सहभागिता जनाएका छन् ।

नेपाल रन यूकेले आफ्नो संस्था आवद्ध विश्वका १२ देशका नेपाली र बेलायतमै रहेका सदस्यहरु गरि ५८ जनाले दौडिएको सो संस्थाका संस्थापक सन्तोष राईले जनाए ।

राईले संस्थागत र व्यक्तिगत रुपमा दौडिएका समेत गरि झण्डै एकसय २० जनाले सहभागिता जनाएको पनि बताए ।

अमेरिका, अष्ट्रेलिया, जर्मनी, सर्बिया, नेपाल, अष्ट्रिया, सिंगापुर, बेल्जियम, यूएई लगायत देशमा बस्ने नेपाली समेत लन्डन म्याराथनमा भाग लिन आएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू