बुधबार, २२ अप्रिल, २०२६
10:59 | १५:४४

वकिङमा पनि खुल्यो छोङ शेर्पाको इरो सुसी, बेलायतभर ३३ आउटलेट

नेपाली लिङ्क अप्रिल २२, २०२६

लन्डन-नेपाली युवा व्यवसायी छोङ नोर्बु शेर्पाले बेलायतको वकिङमा अर्को ‘इरो सुसी’ आउटलेट शुरु गरेका छन् ।

शनिबार औपचारिक रुपमा उद्घाटन भएको यो शाखासंगै अब बेलायतमा इरो सुसीको संख्या ३३ पुगेको छ ।

वकिङ हाइस्ट्रिट नजिक रहेको इरो सुसी उद्घाटन समारोहमा सञ्चालक छोङसहित कर्मचारी र करिब एकसय जना अतिथी निम्त्याइएको थियो ।

अन्य ग्राहकलाई भने २५ प्रतिशत डिस्काउण्टमा खाना विक्री भएको थियो ।

‘हामी वकिङमा पहिलोपटक नयाँ स्टोर खोल्न पाउँदा साँच्चिकै उत्साहित छौं’, छोङले भने, ‘यसको श्रेय समस्त कर्मचारी र ग्राहकलाई जान्छ ।’

उनले स्थानीय समुदायमा स्वस्थ र उच्च–प्रोटिनयुक्त खानाका रुपमा गुणस्तरीय सुसी उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे ।

शेर्पाले सन् २०३० सम्म बेलायत, युरोप र मध्यपूर्वसहित विश्वव्यापी रूपमा कम्तीमा १०० शाखा खोल्ने आफ्नो महत्वाकांक्षी योजना पनि सुनाए ।

अहिले बेलायतभर रहेका इरो रेस्टुरेन्टले प्रत्येक वर्ष लगभग ११ लाख ग्राहकलाई सेवा दिइरहेको छ । यसका साल्मन सेलेक्सन, चिकेन कात्सु करी, चिकेन ग्योजा लगायत सर्वाधिक बिक्री हुने परिकार हुन्।

यूकेले टियर फोर नीति ल्याएपछि सन् २००९ जुलाईमा उच्च शिक्षा लिन लन्डन आएका छोङ नोर्बुले शुरुमा ट्रेनी सेफका रुपमा यस व्यवसायमा पाइला चालेका थिए ।

उनले सन् २०१४ मा क्ल्यापहाम जङ्सनमा पहिलो इरो सुसी खोले । इरो सुसीको फ्रेन्चाइज कन्सेप्ट सन् २०१९ देखि शुरु भएको हो ।

यो व्यवसाय दुई मोडलमा चलिरहेको छ । ‘एउटा हामीसंग पार्टनरशीपमा लगानी गर्ने र अर्को चाँहि १०० प्रतिशत आँफै लगानी गरेर चलाउने विकल्प छन्’, छोङले भने ।

कसैले १०० प्रतिशत लिन चाहन्छ भने फ्रेन्चाइजी फि र टर्नओभरमा ५ प्रतिशत रोयल्टी तिर्नुपर्छ ।

दोलखाको विकट गाउंमा सामान्य परिवारमा जन्मिएर वाल्यकालमा धेरै संघर्ष खेपेका ३८ वर्षीय छोङ लगाव, इमान्दारी र कडा परिश्रम नै आफ्नो सफलताको कारक ठान्छन् ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू