मंगलबार, २१ अप्रिल, २०२६
00:05 | ०४:५०

सामुदायिक विद्यालयमा छात्रवृत्ति कोषका लागि राप्ती समाज यूकेको च्यारिटी डिनर

नेपाली लिङ्क अप्रिल २०, २०२६

लण्डन – राप्ती समाज यूकेले शनिबार आशफोर्डमा एक च्यारिटी डिनर आयोजना गरेको छ।

यस च्यारिटीको उद्देश्य राप्ती क्षेत्रमा पर्ने सल्यान जिल्लाको एक सामुदायिक विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्नु रहेको थियो।

राप्ती समाज यूकेको वार्षिक साधारण सभा सम्पन्न भएपछि च्यारिटी कार्यक्रम गरिएको थियो।

कार्यक्रम राप्ती समाजका सदस्यहरु साथै विभिन्न संघसंस्थाका अतिथिहरूलाई स्वागत गर्दै सुरु भएको थियो। फोक्स्टोन नेपाली समुदायका अध्यक्ष क्याप्टेन (सेवानिवृत्त) सुमन चन्द्र राई, क्षेत्री समाज वेलफेयर फाउन्डेशन यूकेका क्याप्टेन टेक घर्ती, गुरुङ समाज केन्टका अध्यक्ष गोलमान गुरुङ, १ आरजीआरका प्रतिनिधि क्याप्टेन नरवीर गलामी लगायत का पाहुनाहरु कार्यक्रममा सहभागी भएका थिए।

क्षेत्री समाज वेलफेयर फाउन्डेशन यूकेका अध्यक्ष क्याप्टेन टेक घर्तीले आफ्नो मन्तव्यमा दुर्गम क्षेत्रको विद्यालयलाई सहयोग गर्ने र विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन छात्रवृत्ति कोष स्थापना गर्ने अभियानलाई सघाउन पाउँदा आफू अत्यन्तै खुसी भएको बताए।

राप्ती समाजका अध्यक्ष चन्द्र शाहीले आफ्नो व्यस्त समयबाट समय निकालेर यस पुण्य कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसके पनि धेरै व्यक्तिले आर्थिक सहयोग गरेको उल्लेख गर्दै आभार प्रकट गरे । साथै, शाहीले पीपल मोर्टगेज आशफोर्ड, यती होम्स आशफोर्ड, गोर्खा भिल्ला आशफोर्ड लगायतका प्रायोजकहरूलाई धन्यवाद पनि दिए।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति तथा ‘राफल ड्र’ समेत आयोजना गरिएको थियो।

यस च्यारिटीबाट संकलित रकम पश्चिम नेपालस्थित जाजरकोट जिल्लाको एक सामुदायिक विद्यालयमा अक्षय कोष स्थापना गर्न प्रयोग गरिनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू