आइतबार, १२ अप्रिल, २०२६
14:57 | १९:४२

लन्डन प्रदर्शनमा समातिए पाँच सय बढी प्यालेस्टाइन समर्थक

रासस अप्रिल १२, २०२६

लन्डन । बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप हुँदा पाँच सय भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । प्रतिबन्धित समूह ‘प्यालेस्टाइन एक्सन’ को समर्थनमा ट्राफलगर स्क्वायरमा शनिबार आयोजित सिट–इन प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले व्यापक गिरफ्तारी अभियान चलाएको हो।

मेट्रोपोलिटन प्रहरीले दिएको जानकारी अनुसार मध्यरातसम्म १८ देखि ८७ वर्ष उमेर समूहका कुल ५२३ जनालाई नियन्त्रणमा लिइएको छ । प्रदर्शनकारीहरू उक्त प्रतिबन्धित समूहको समर्थनमा प्लेकार्ड बोकेर भेला भएका थिए, जसलाई बेलायती कानूनअनुसार आपराधिक गतिविधिको रूपमा लिइन्छ ।

प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिँदा अन्य सहभागीहरूले जयजयकार र ताली बजाएर समर्थन जनाएका थिए।

‘प्यालेस्टाइन एक्सन’ लाई गत जुलाईमा आतङ्कवादी सङ्गठनको सूचीमा राखिएको थियो, जसअन्तर्गत यसको समर्थन वा सदस्यता लिनु गम्भीर अपराध मानिन्छ र १४ वर्षसम्म कैद सजाय हुन सक्छ । यद्यपि, लन्डनको उच्च अदालतले फेब्रुअरीमा उक्त प्रतिबन्धमाथि प्रश्न उठाउँदै यसले अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप गरेको ठहर गरेको थियो । सरकारलाई त्यस निर्णयविरुद्ध अपिल गर्ने अनुमति दिइएको छ।

उच्च अदालतको निर्णयपछि केही समय गिरफ्तारी रोकिएको भए पनि मेट्रोपोलिटन प्रहरीले मार्च अन्त्यतिर पुनः कडाइ सुरु गर्ने घोषणा गरेको थियो । त्यसयता प्रदर्शनहरूमा पक्राउ पर्नेको सङ्ख्या तीव्र रूपमा बढेको छ । प्रहरीका अनुसार प्रतिबन्ध लागू भएयता झन्डै तीन हजार जना पक्राउ परिसकेका छन् र सयौँमाथि औपचारिक आरोप लगाइएको छ।

प्रदर्शनमा सहभागीहरूले भने आफ्नो गतिविधिलाई नैतिक कर्तव्यका रूपमा व्याख्या गरेका छन् । प्रदर्शनको अग्रपङ्क्तिमा बसेकी लन्डनकी २८ वर्षीया फ्रेयाले सरकारको नीतिको विरोध गर्न निरन्तर उपस्थिति जनाउनु आवश्यक रहेको बताए। उनले गाजामा भइरहेका घटनाप्रति आवाज उठाउनु नैतिक जिम्मेवारी भएकामा जोड दिए।

एडिनबर्गबाट आएका ७३ वर्षीय डेनिस म्याकडर्मोटले आफू पहिले पनि पक्राउ परिसकेको तर फेरि प्रदर्शनमा आउन हिचकिचाएको छैन भनी बताउँदै न्यायिक प्रक्रिया स्पष्ट भएको भए यस्ता आन्दोलन आवश्यक नपर्ने धारणा राखे । उनले अन्य प्रदर्शनकारीतर्फ सङ्केत गर्दै आफू उनीहरूको पक्षमा रहेको बताए।

प्रदर्शन आयोजक ‘डिफेन्ड आवर जुरी’ ले भने शनिबारको कार्यक्रममा सयौँ मानिस सहभागी भएको दाबी गर्दै बेलायत सरकारले गाजासम्बन्धी नीतिमा खेलेको भूमिकाको विरोध गरिएको जनाएको छ । साथै, शान्तिपूर्ण विरोधमाथि भइरहेको कडाइलाई ‘गलत दमन’ का रूपमा चित्रण गरिएको छ।

मानव अधिकार संस्था एम्नेस्टी युकेले पनि प्रहरी कारबाहीको आलोचना गर्दै यसलाई नागरिक स्वतन्त्रतामाथिको अर्को प्रहार भनेको छ । संस्थाले विशेष गरी वृद्ध तथा कमजोर व्यक्तिहरूसमेत पक्राउ परेको घटनालाई उल्लेख गर्दै यसले सरकारको असफल नीतिलाई दोहोर्‍याएको आरोप लगाएको छ।

प्यालेस्टाइन एक्सनमाथिको प्रतिबन्धले बेलायतमा व्यापक बहस निम्त्याएको छ । उक्त सूचीमा पहिले नै हमास र लेबनानको हिजबुल्लाहजस्ता समूह समावेश छन् । अदालतले यस समूहसँग सम्बन्धित सबै मुद्दाहरूको सुनुवाइ अस्थायी रूपमा रोकेको छ र जुलाई ३० मा विस्तृत पुनरावलोकन गर्ने तयारी गरिएको छ ।

सन् २०२० मा स्थापना भएको ‘प्यालेस्टाइन एक्सन’ ले आफूलाई इजरायलसँग सम्बन्धित सैन्य तथा औद्योगिक संरचनाविरुद्ध अभियान चलाउने समूहको रूपमा प्रस्तुत गर्दै आएको छ । यसको गतिविधि विशेषगरी इजरायली रक्षा कम्पनी एल्बिट सिस्टमसँग सम्बन्धित संरचनाहरू लक्षित रहेको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू