सोमबार, ६ अप्रिल, २०२६
23:58 | ०४:४३

लन्डनमा रुचाइयो नेपाली कला, संस्कृति र संघर्षको कथा समेटिएको कार्यक्रम

नेपाली लिङ्क अप्रिल ६, २०२६

लन्डन । लन्डनमा नेपाली कला, संस्कृति र संघर्षको कथा समेटिएको एक विशेष कार्यक्रम ‘लिडिङ थ्रु स्टोरिजः कल्चर, रेजिलेन्स एण्ड भ्वाइसेस अफ चेन्ज इन नेपाल’ सम्पन्न भएको छ । युनिभर्सल पीस फेडरेशन (यूपीएफ) मुख्यालयमा हालै आयोजित उक्त समारोहमा कलाकार, चलचित्रकर्मी, सांस्कृतिक अभियन्ता र विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो ।

कवि तथा उद्घोषक ह्यान्ना स्ट्यानिसलासले यूपीएफका शान्ति र सद्भावका मूल्यमान्यता झल्काउने कविता वाचन गर्दै कार्यक्रम शुरुवात गरेकी थिइन्।

समारोहमा यूपीएफ बेलायतका महासचिव रोबिन मार्सले शान्ति केवल द्वन्द्वको अभाव मात्र नभई विभिन्न संस्कृतिबीचको सहकार्य र समझदारी रहेको उल्लेख गर्दै संस्थाको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

सोही अवसरमा यूपीएफ बेलायतकी निर्देशक इभा च्यान र ईयूएमई संयोजक इभा पेजकोफ्स्कीले अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक आदानप्रदानको महत्त्वबारे चर्चा गर्दै आईएएसीपीको पहलप्रति कृतज्ञता व्यक्त गरे।

आईएएसीपी यूपीएफ बेलायतकी अध्यक्ष संगीता स्वेच्छाले नेपालको समृद्ध सांस्कृतिक पहिचान र नेपाली समाजको संघर्षशील चरित्रका बारेमा मन्तव्य राख्दै संस्कृतिलाई संवाद र सिर्जनामार्फत जीवन्त राख्नुपर्नेमा जोड दिइन्।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा सञ्जोग बस्यालद्वारा निर्देशित वृत्तचित्र ‘कृष्णः अ स्टोरी अफ सेल्फ डिपेन्डेन्स’ प्रदर्शन गरिएको थियो। अपाङ्गता भएका एक युवकको आत्मविश्वास र स्वावलम्बनको कथा समेटिएको उक्त फिल्मले दर्शकलाई भावुक बनाउनुका साथै जीवनप्रति सकारात्मक सोच राख्न प्रेरित गरेको थियो। वृत्तचित्र प्रदर्शनपछि निर्देशक बस्यालले पठाएको सन्देश संगीता स्वेच्छाले वाचन गरेर सुनाएकी थिइन् ।

शारीरिक चुनौतीका बाबजुद पनि आत्मसम्मानका साथ बाँच्न सकिन्छ भन्ने सन्देश दिनु नै फिल्मको मुख्य उद्देश्य रहेको बस्यालको सन्देशमा उल्लेख थियो । उक्त वृतचित्र सन् २०१५ मा तयार गरिएपनि सन् २०१८ मा रिलिज भएको थियो ।

कार्यक्रममा निल्स ज्याकोब लुन्ड र संगीता स्वेच्छाले संयुक्त रूपमा तयार पारेको प्रकाशोन्मुख कृति ‘अ पर्पस इन लाइफ’ को आवरण समेत अनावरण गरिएको थियो। उक्त पुस्तकमा नेपालका ऐतिहासिक तस्विरहरु समावेश हुनेछन् जसलाई फोटोग्राफर निल्स ज्याकोबले दशकौंअघि कैद गरेका थिए ।

कार्यक्रम थप आकर्षक र मनोरन्जन दिलाउने क्रममा निहारिका राई, सुहाना शर्मा र इभाना न्यौपानेले नेपाली मौलिक नृत्यहरू प्रस्तुत गरेर हलमा नेपालीपनको रौनकता थपेका थिए। प्रतिभा नक्षत्रका प्रतिनिधिले नेपाली प्रतिभाको खोजी र सांस्कृतिक सम्पदाको संरक्षणमा भइरहेका प्रयासबारे जानकारी दिए।

कार्यक्रममा पहिलो महिला नेवा संगीतकर्मी इन्दिरा लाछिमस्यूको जीवनमा आधारित चलचित्र ‘इन्दिराः धिमे माइचा’ को झलक समेत प्रस्तुत गरिएको थियो, जसले पितृसत्तात्मक सोचलाई चुनौती दिँदै धिमे बाजालाई अन्तर्राष्ट्रियकरण गरेको सङ्घर्ष दर्शाएको छ ।

कार्यक्रमको अन्त्यमा यूपीएफ बोर्ड अफ ट्रस्टी अध्यक्ष किथ बेस्टले सांस्कृतिक एकता र पहिचान संरक्षणमा सञ्चारमाध्यमको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै नेपाली संस्कृतिलाई विश्वभर फैलाउन यस्ता कार्यक्रमले सेतुको काम गर्ने विश्वास व्यक्त गरे।

     

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू