सोमबार, ६ अप्रिल, २०२६
22:46 | ०३:३१

इङ्गल्याण्डका दशौं हजार आवासीय चिकित्सक ६ दिने हडतालमा उत्रिए

नेपाली लिङ्क अप्रिल ६, २०२६

फाइल तस्विर- गार्डियन

लन्डन । इङ्गल्याण्डका दशौं हजार आवासीय चिकित्सकहरूले मंगलबार बिहान ७ बजेदेखि तलब र जागिरको माग गर्दै ६ दिने हडताल गर्ने भएका छन्।

सरकारसँग लामो समयदेखि चलिरहेको तलब र काम गर्ने अवस्थाको विवादबीच आवासीय डाक्टरहरू फेरि हडतालमा उत्रिने भएका हुन् । आवासीय चिकित्सकहरूको हडताल व्यवस्थित गर्न मद्दत गरिरहेका ब्रिटिश मेडिकल एसोसिएसन युनियनका कर्मचारीहरू पनि सडकमा निस्कने बताइएको छ ।

यो सन् २०२३ पछि इङ्गल्याण्डमा आवासीय डाक्टरहरूले गर्न लागेको १५ औं चरणको हडताल हुनेछ।

यो हड्ताल नयाँ वर्षयता दुई महिना भन्दा बढी समयको वार्तामा समाधान ननिस्किएपछि आएको हो । यस वर्ष चिकित्सकहरूलाई ३.५ प्रतिशत तलब वृद्धि गरिने कुरा बाहिर आएपछि वार्ता भङ्ग भएको थियो । इन्डिपेन्डेन्ट पे रिभ्यू बडीले सिफारिस गरेको यो वृद्धि सरकारले स्वीकार गरेको थियो ।

तर, ब्रिटिश मेडिकल एसोसिएसन (बीएमए) ले यो प्रस्ताव डाक्टरहरूका लागि ‘ठूलो झट्का’ भएको टिप्पणी गरेको छ । यो केवल आवासीय डाक्टरहरूलाई मात्र नभई सबै चिकित्सकहरूलाई दिने भनिएको थियो ।

स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले बीएमएका अपेक्षा ‘उचित र यथार्थपरक भन्दा बाहिर’ रहेको बताएका छन् । ‘बीएमएले यो प्रस्ताव अस्वीकार गर्नु एनएचएस बिरामी र कर्मचारीहरूका लागि अत्यन्तै निराशाजनक छ’, उनले भने ।

उता, हेल्थ एण्ड सोसल केयर विभागले एक हजार अतिरिक्त तालिम स्थान माग आर्थिक वा सञ्चालनका हिसाबले सम्भव नभएको बताएको छ ।

एनएचएस इङ्गल्याण्डले हडतालको समयमा देशभरका अस्पतालमा बिरामीहरूको अवरोध कम गर्न काम गर्ने बताएको छ ।

बिरामीहरूलाई पुनः तालिकाबारे सम्पर्क नगरिएको अवस्थामा निर्धारित अपोइन्टमेन्टमा उपस्थित हुन सल्लाह दिइएको छ र ज्यान जोखिममा पार्ने आपतकालिन अवस्था भएका बिरामीले ९९९ मा सम्पर्क गर्न वा ‘ए एण्ड इ’ मा उपस्थित हुन सुझाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू