सोमबार, ६ अप्रिल, २०२६
23:07 | ०३:५२

तमु समाज यूकेद्वारा स्व. धनसिङ गुरुङको स्मृतिमा श्रद्धाञ्जली सभा

नेपाली लिङ्क अप्रिल ६, २०२६

लन्डन । तमु समाज यूकेका ज्येष्ठ सदस्य तथा अभिभावक स्वर्गीय धनसिङ गुरुङको स्मृतिमा ५ अप्रिल आइतबार ‘श्रद्धाञ्जली सभा’ गरिएको छ ।

वेम्बलीस्थित समाजको सामुदायिक भवनमा कार्यक्रम भएको हो । ९२ वर्षको उमेरमा गत २२ मार्चमा निधन भएका गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजित उक्त कार्यक्रममा उल्लेख्य जनसहभागिता थियो।

हल क्षमताभन्दा बढी मानिस भएपछि धेरैले उभिएरै कार्यक्रममा सहभागिता जनाउँदै दिवंगतप्रति श्रद्धा व्यक्त गरे ।

कार्यक्रममा आमा समूहद्वारा आतिथ्य तथा प्रभावकारी व्यवस्थापन भएको थियो ।

स्वर्गीय गुरुङको पार्थिव शरीर उनको अन्तिम इच्छा तथा परिवारको चाहनाअनुसार अन्त्येष्टिका लागि नेपाल लैजाने तयारी भइरहेको छ ।

बेलायतमा रहेका आफन्त, इष्टमित्र तथा शुभचिन्तकहरूले सामूहिक रूपमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पाउन् भन्ने उद्देश्यले उक्त सभा आयोजना गरिएको हो। तमु समाज यूकेले आफ्नो आजीवन सदस्यको सम्मानमा पहिलो पटक आफ्नै सामुदायिक भवनमा श्रद्धाञ्जली सभा आयोजना गरेको हो जसलाई बेलायतस्थित नेपाली समुदायमा एउटा उदाहरणीय कार्यका रूपमा लिइएको छ।

कार्यक्रम बिहान १०ः३० बजे सुरु भएको थियो। संस्थाका पूर्व महासचिव तथा सल्लाहकार धरम बल गुरुङले कार्यक्रम सञ्चालन गर्दै उपस्थित सबैलाई स्वागत गर्नुका साथै स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जानकारी 
गराए लगत्तै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उपस्थित सबैले एक मिनेट मौन धारण गरेका थिए। त्यसपश्चात् सञ्चालक गुरुङले कार्यक्रमको उद्देश्य र रूपरेखा प्रस्तुत गरे ।

कार्यक्रमको मुख्य अंशअन्तर्गत स्व. धन सिङ गुरुङको जीवनवृत्त निवर्तमान अध्यक्ष शिव कुमार गुरुङले भावुक शैलीमा वाचन गरे । सो अवसरमा उनको जीवनका महत्वपूर्ण झलकहरू प्रोजेक्टरमार्फत स्लाइडका रूपमा प्रस्तुत गर्दा उपस्थित सबै भावविह्वल बनेका थिए।

परिवारका तर्फबाट ज्येष्ठ सुपुत्र सुवसिङ गुरुङले तमु समाज यूकेले देखाएको साथ, सहानुभूति र सम्मानप्रति आभार व्यक्त गरे । उनले यस दुःखद घडीमा समाज र शुभेच्छुकहरूबाट प्राप्त सहयोगले परिवारलाई ठूलो हौसला मिलेको बताए । उनले विभिन्न संघसंस्थाका प्रतिनिधि तथा ब्रेन्ट बरोका पूर्व मेयर काउन्सिलर भगवान सिंह चोहान लगायत सबैप्रति धन्यवाद ज्ञापन गरे ।

तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्था, सदस्य तथा विशेषगरी आमा समूहप्रति हार्दिक कृतज्ञता व्यक्त गरिन् । सोही क्रममा अध्यक्ष घले र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले शोकसन्तप्त परिवारलाई संयुक्त रूपमा समवेदना पत्र हस्तान्तरण गरे ।

उक्त पत्र स्व. गुरुङका सुपुत्रद्वय तमु समाज यूकेका सल्लाहकार एवं ट्रष्टी सुब सिङ गुरुङ र कार्यसमिति सदस्य दिनेश गुरुङले ग्रहण गरे ।

श्रद्धाञ्जली अर्पणको चरणमा परिवारका सदस्य, तमु समाज यूकेका पदाधिकारी, संस्थापक तथा पूर्व अध्यक्षहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि र शुभचिन्तकहरूले पुष्पगुच्छा अर्पण गर्दै दिवंगतप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कार्यक्रमको अन्त्यमा ‘भवतु सब्ब मंगलम्’को कामनासहित दिवंगत आत्माको चिरशान्तिको प्रार्थना गर्दै बिहान ११ः४५ बजे सभा विसर्जन गरिएको थियो ।
कार्यक्रमपश्चात् तमु समाज यूके आमा समूह तथा परिवारको तर्फबाट जलपानको व्यवस्था गरिएको थियो ।

उक्त सभामा तमुधिं यूके, तमु प्येल्हु संघ यूके, एनआरएनए यूके, बँगेली समाज यूके, रामबजार समाज यूके, फेदीखोला समाज यूके, तमु धिं लण्डन इकाइ, बन्टओक समाज यूके, लेम तमु समाज यूके, स्याङ्जा समाज यूके, साबेत मौजा समाज यूके तथा नाता–गोता समाज यूके लगायतका प्रतिनिधिहरूको उपस्थिति थियो ।

शिव कुमार गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू