आइतबार, १९ अप्रिल, २०२६
12:24 | १७:०९

पोर्चुगलमा गोर्खा–११ क्लबको नयाँ जर्सी अनावरण, अप्रिल १८ देखि राष्ट्रिय लिग

नेपाली लिङ्क अप्रिल ४, २०२६

लन्डन– पोर्चुगलको राजधानी लिस्बनमा गोर्खा–११ क्रिकेट क्लबले आगामी पोर्चुगल राष्ट्रिय क्रिकेट लिगका लागि आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ। उक्त लिग आगामी अप्रिल १८ तारिखबाट लिस्बनमै सुरु हुने भएको छ।

सन् २०१६ मा क्रिकेट खेलाडी मधुकर थापाको अगुवाइमा स्थापना भएको गोर्खा–११ क्रिकेट क्लब पोर्चुगलमा नेपाली समुदायबीच एक लोकप्रिय टिमका रूपमा परिचित छ । यसअघि क्लबले पोर्चुगल राष्ट्रिय क्रिकेट लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको थियो ।

यस सिजनका लागि टिमको कप्तानी मन्जित सिंहले सम्हाल्ने भएका छन्। जर्सी सार्वजनिक गर्ने साथै खेलाडी परिचय कार्यक्रम लिस्बनस्थित ओला नेपाल हाउस रेस्टुरेन्टमा आयोजना गरिएको थियो। कार्यक्रममा खेलाडीहरूले आफ्ना अनुभव साझा गर्दै आगामी लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य व्यक्त गरेका छन्।

टिमको नयाँ जर्सीको प्रायोजना ब्रीज इन्टरनेशनल र ब्रिटिस गोर्खाली क्रिकेट लिग (बिजिसीएल) ले गरेका छन्। साथै, पोर्चुगलमा रहेका दर्शन नेपाल स्टोर, दियालो रेस्टुरेन्ट र ओभन रेस्टुरेन्टले आर्थिक सहयोग प्रदान गरेको क्लबका संस्थापक मधुकर थापाले जानकारी दिए।

कार्यक्रममा विशेष अतिथि नेपालको राष्ट्रिय टिमबाट विश्वकप खेलिसकेका क्रिकेटर राहुल विश्वकर्मा, क्लबका संस्थापक मधुकर थापा, ब्रिटिस गोर्खाली क्रिकेट लिगका प्रमुख कार्यकारी अधिकृत गाम गुरुङ, पोर्चुगल राष्ट्रिय क्रिकेट टिमका खेलाडी सैदुर रहमान, एनआरएनए पूर्व आइसीसी सदस्य राजकुमार थापा तथा एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष सुरज बिष्टलगायतले टिमलाई शुभकामना व्यक्त गरेका थिए ।

गोर्खा–११ क्रिकेट क्लबमा नेपालसहित बंगलादेश, भारत र पाकिस्तानका खेलाडीहरू पनि सहभागी छन्। यसले टिमलाई विविधतापूर्ण बनाउँदै प्रतिस्पर्धात्मक बढाएको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू