जोएल लेभेस्कलाई ‘प्रा सूर्य सुवेदी निबन्ध पुरस्कार’



प्रा. सूर्य सुवेदी
लन्डन — कानुनविद जोएल लेभेस्कले सन् २०२५ को प्रतिष्ठित ‘प्रा सूर्य सुवेदी निबन्ध पुरस्कार’ जितेका छन्। उनले ‘Synthetic Proximity: AI Facilitated Trafficking and the Collapse of Protective Distance’ शीर्षकको शक्तिशाली र समयसापेक्ष निबन्धका लागि यो सम्मान प्राप्त गरेका हुन्।
हल विश्वविद्यालयसंग आबद्ध द विल्बरफोर्स इन्स्टिच्युटले लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्य सुवेदीसँगको सहकार्यमा स्थापित ५०० पाउण्ड राशीको यो पुरस्कार मानव अधिकारका जटिल र समसामयिक विषयमा नयाँ दृष्टिकोण, शैक्षिक कठोरता र व्यावहारिक सान्दर्भिकता प्रस्तुत गर्ने उत्कृष्ट निबन्धलाई प्रदान गरिने जनाएको छ ।
एआई र मानव बेचबिखनबारे नयाँ चेतावनी
विजेता निबन्धमा लेभेस्कले कृत्रिम बुद्धिमत्ता (एआइ) ले मानव बेचबिखनको स्वरूपलाई कसरी रूपान्तरण गरिरहेको छ भन्ने विषयलाई गहिरो रूपमा विश्लेषण गरेका छन्। उनले ‘सिन्थेटिक प्रोक्सिमिटी’ (कृत्रिम निकटता) को अवधारणा प्रस्तुत गर्दै अपराधीहरूले वास्तविक सम्पर्क वा साझा सन्दर्भविना नै सम्भावित पीडितलाई धोका दिने र शोषण गर्ने सम्भावना बढेको तर्क गरेका छन्।
उनका अनुसार यस्तो प्रवृत्तिले उत्तरदायित्व, अधिकार क्षेत्र (Jurisdiction) र प्रमाणसम्बन्धी विद्यमान कानुनी संरचनालाई चुनौती दिइरहेको छ। त्यसैले एआईमार्फत हुने शोषणलाई समेट्ने गरी मानव बेचबिखनसम्बन्धी कानुनलाई पुनःपरिकल्पना गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन्।
निर्णायक मण्डलले निबन्धको मौलिकता र दूरदर्शिताको प्रशंसा गर्दै ‘सिन्थेटिक प्रोक्सिमिटी’ अवधारणाले एआई प्रणालीले कसरी झुटो आत्मीयता र विश्वास सिर्जना गर्छ भन्ने विषयलाई नवीन र समयसापेक्ष तरिकाले प्रस्तुत गरेको टिप्पणी गरेको छ।
विजेताको अनुभव र प्रतिक्रिया
१५ वर्षभन्दा बढी अन्तरराष्ट्रिय अनुभव भएका मानव बेचबिखनसम्बन्धी कानुन विशेषज्ञ लेभेस्कले अभियोजन, पीडित संरक्षण तथा न्याय प्रणाली सुधारमा काम गर्दै आएका छन्। उनी विशेषगरी प्रविधि तथा एआईद्वारा सहज बनाइने बेचबिखनका नयाँ प्रवृत्तिमा केन्द्रित छन्।
पुरस्कार जितेपछि उनले भने, “यो उपलब्धिले मेरो तर्कको महत्त्व र आवश्यकता दुवैलाई पुष्टि गरेको छ। मानव बेचबिखनबारे हामीले गर्दै आएका केही आधारभूत मान्यताहरू अहिलेको अवस्थामा पर्याप्त नहुन सक्छन् भन्ने कुरा स्वीकार गर्नुपर्ने समय आएको छ।”
प्राध्यापक सूर्य सुवेदीले उक्त निबन्धलाई समसामयिक र गहन विश्लेषण प्रस्तुत गर्ने कृतिका रूपमा प्रशंसा गर्दै यसले अनुसन्धानकर्ता र नीति निर्माता दुवैका लागि नयाँ बहसको ढोका खोल्ने विश्वास व्यक्त गरे। उनले भने, “यस निबन्धले नीति निर्माणका लागि महत्वपूर्ण सोचको आधार प्रदान गर्छ र यो क्षेत्रमा थप चासो बढाउने अपेक्षा गरिएको छ।”
२०२६ का लागि निबन्ध प्रतियोगिता घोषणा
आयोजक संस्थाले सन् २०२६ को ‘प्रा सूर्य सुवेदी निबन्ध पुरस्कार’ आगामी अक्टोबर १८, अर्थात् दासता विरुद्धको दिवस (Anti-Slavery Day) का अवसरमा सुरु हुने घोषणा गरेको छ।
प्रतियोगितामा आधुनिक दासत्वको अन्त्य वा मानव मर्यादाको संरक्षणसम्बन्धी विषयमा विश्वका जुनसुकै स्थानबाट निबन्ध पठाउन सकिनेछ। आवेदनको अन्तिम मिति डिसेम्बर ३१, २०२६ तोकिएको छ।
प्राध्यापक सुवेदीले आफ्नो सन्देशमा नयाँ पुस्तालाई विश्वलाई अझ राम्रो बनाउन योगदान दिन आग्रह गरेका छन्। त्यसैगरी, लेभेस्कले आफ्ना विचारप्रति सन्देह भए पनि निबन्ध पेश गर्न हिच्किचाउन नहुने सुझाव दिएका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


