तमुधिं भवनमा गोर्खा कपको तयारी बैठक, ५ अप्रिलदेखि टिम इन्ट्री



लन्डन । बेलायतस्थित नेपाली डायष्पोराको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता गोर्खा कपको तयारी शुरु भएको छ । आयोजक तमुधिं यूकेले आगामी २४ मेमा क्वीन्स एभिन्यू अल्डरसटमा हुने २४औँ गोर्खा कप तयारीबारे आइतबार प्रारम्भिक छलफल गरेको हो ।
तमुधिं भवन मिचेटमा अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले टिम इन्ट्री समयसीमा, टिम संख्या, टिम इन्ट्री शुल्क, पुरस्कार राशी लगायत निर्धारण गरेको छ ।
बैठकमा ५ अप्रिल आइतबार टिम र स्टल इन्ट्री खुल्ने र ३ मे २०२६ मा दुवै इन्ट्री बन्द हुने अवगत गराइएको थियो । यो ‘फस्ट कम फस्ट सर्भड बेसीस’ मा हुनेछ ।
बैठकमा मेन टिम प्रवेश शुल्क ३५० पाउण्ड, पहिलो पुरस्कार ३५०० पाउण्ड र दोस्रो पुरस्कार २००० पाउण्ड एवं म्यान अफ द म्याचको आकर्षक पुरस्कार राखिने जनाइएको छ ।
त्यसैगरि, भेट्रान क्याटेगोरीको टिम इन्ट्री शुल्क ३५० पाउण्ड, प्रथम पुरस्कार १८०० पाउण्ड, दोश्रो पुरस्कार १२०० पाउण्ड र म्यान अफ द म्याचका लागि आकर्षक पुरस्कार दिइने तमुधिं यूकेले जनाएको छ ।
त्यस्तै महिला टिमको प्रवेश शुल्क ३०० पाउण्ड, प्रथम पुरस्कार ६०० पाउण्ड र दोश्रो पुरस्कार ४०० पाउण्ड निर्धारण गरिएको छ ।
बैठकमा २४औँ गोर्खा कप कोअर्डिनेटर एवं खेलकुद सचिव क्याप्टेन (रि.) दीपक घलेले पावर प्वाइन्टमार्फत खेल र हालसम्मको अपडेट सम्बन्धमा विस्तृत जानकारी दिए । घलेले गत वर्ष गोर्खा कपमा भएका कमी कमजोरी फ्लोरमा राखेपछि यसमा व्यापक छलफल गरि सुधार गर्ने निर्णय भएको छ ।

गोर्खा कप कोअर्डिनेटर एवं खेलकुद सचिव क्याप्टेन (रि.) दीपक घले
बैठकपछि तमुधिं यूके सचिव विमल गुरुङले यसपटक बालबालिकाका लागि ४ वटा बाउन्सी क्यासल खेल राख्ने र अपांग असहायलाई निशुल्क प्रवेश दिइने निर्णय भएको नेपालीलिंकलाई जनाए । गोर्खा कपको प्रवेश शुल्क ५ पाउण्ड, कार पार्क शुल्क ५ पाउण्ड एवं बस भ्यान पार्क शुल्क १० पाउण्ड राखिएको पनि सचिव गुरुङले जानकारी दिए ।
बैठकमा निवर्तमान अध्यक्ष हरि गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, सल्लाहकार ले. कुसाङ गुरुङ, पूर्वअध्यक्ष ज्ञाम गुरुङलगायतले पनि आ आफ्नो सुझाव राखेका थिए ।
बैठकले अब हरेक वर्ष ‘ट्रेल वाकर’ मा भाग लिने निर्णय पनि गरेको छ । यसका लागि सल्लाहकार सान्तकुमार गुरुङको संयोजकत्वमा टिम बनाइएको छ जसमा तमुधिं यूकेका उपाध्यक्ष कमल गुरुङ, सल्लाहकार तर्कजंग गुरुङ र गोर्खा किचनका प्रोप्राइटर एवं तमुधिं यूकेका आजीवन सदस्य भीम गुरुङ संलग्न छन् । उक्त टिमलाई लजिस्टिकमा सचिव विमल गुरुङ र मिडिया सेक्रेटरी एसके गुरुङले सहयोग गर्ने बताइएको छ ।

बैठकको अन्त्यमा अध्यक्ष जुमकाजी गुरुङले उपस्थित सबै पदाधिकारी, सदस्य र सल्लाहकारहरुलाई धन्यवाद दिए । उनले सल्लाहकार दलबहादुर गुरुङका पिता, सल्लाहकार कुमार गुरुङको आमा र सल्लाहकार अमृत गुरुङको ससुराको निधन भएकोमा दिवंगत आत्माप्रति समवेदना व्यक्त गर्दै बैठक समापन गरेका थिए ।
तमुधिं यूके महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको उक्त बैठकमा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष परशु गुरुङले दिएका थिए ।
गोर्खा कप बेलायतस्थित नेपाली समुदायमाझ सबैभन्दा ठूलो र लोकप्रिय फुटबल उत्सवका रूपमा परिचित छ । यस खेल हेर्न बेलायतभरबाट हजारौं दर्शक सहभागी हुने गर्छन् । यो फुटबल प्रतियोगितामात्र नभई आपसी एकता, सद्भाव र स्थानीय समुदायबीच इन्ट्रीगेसन, व्यापार प्रवर्धन आदिका रुपमा समेत लिइन्छ । स्थानीय रसमोर काउन्सिलले गोर्खा कपलाई आफ्नो वार्षिक क्यालेन्डरमै राखेको छ ।
गोर्खा कपमा खेलकुदसँगै विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम, खाना, मौलिक भेषभूषा प्रदर्शनी पनि हुने गरेको छ ।
तस्विर- मिलन तमु



