आइतबार, १५ मार्च, २०२६
21:14 | ०२:५९

लन्डन पशुपतिनाथ मन्दिरमा सामूहिक व्रतबन्ध हुँदै

नेपाली लिङ्क मार्च १५, २०२६

लन्डन– लन्डनस्थित पशुपतिनाथ मन्दिरमा सामूहिक व्रतबन्ध कार्यक्रम आयोजना गरिने भएको छ।

स्थानीय समुदायको सुविधालाई ध्यानमा राख्दै यही मार्च २९ तारिख आइतबार मन्दिर परिसरमा उक्त कार्यक्रम गरिने जनाइएको छ।

मन्दिर समितिका कोषाध्यक्ष रामकृष्ण अर्यालका अनुसार सामूहिक व्रतबन्धका लागि हालसम्म आधा दर्जनभन्दा बढी वटुकहरूको नाम दर्ता भइसकेको छ। व्रतबन्ध गराउन इच्छुक अभिभावक तथा परिवारलाई सकेसम्म चाँडो मन्दिरमा सम्पर्क गरी नाम दर्ता गर्न आह्वान गरिएको छ।

सामूहिक व्रतबन्ध कार्यक्रममा सहभागी हुन प्रत्येक वटुकले खर्चस्वरूप १ हजार पाउण्ड शुल्क बुझाउनुपर्नेछ। उक्त शुल्कअन्तर्गत पूजाका लागि आवश्यक सम्पूर्ण धार्मिक सामग्री, प्रसाद तथा सहभागीहरूका लागि भोजनको व्यवस्था मन्दिरले नै गर्नेछ।

मन्दिरका अनुसार एक जना वटुकको तर्फबाट करिब १० देखि १५ जनासम्म परिवारका सदस्य वा आफन्तहरू कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

बेलायतजस्तो देशमा व्यक्तिगत रूपमा व्रतबन्ध संस्कार सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी तथा व्यवस्थापन गर्न कठिन हुने भएकाले मन्दिरले विगत केही वर्षदेखि सामूहिक रूपमा व्रतबन्ध कार्यक्रम आयोजना गर्दै आएको मन्दिर समितिका अध्यक्ष रोमनाथ पाण्डेले जानकारी दिएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू