बिहीबार, १२ मार्च, २०२६
00:59 | ०६:४४

इष्ट लन्डन महिला कम्युनिटीद्वारा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस

नेपाली लिङ्क मार्च ११, २०२६

लन्डन । इष्ट लन्डन महिला कम्युनिटीले लन्डनको डेगेनहाममा ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) एक विशेष समारोहका साथ मनाएको छ । “गीभ टु गेन” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा समुदायका विभिन्न पेसा र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने महिलाहरूलाई कदर गर्दै सम्मान पत्र, सिल्ड र पुष्पगुच्छा प्रदान गरिएको थियो । सम्मानित हुनेहरूमा विगत १४ वर्षदेखि सौन्दर्य व्यवसाय र समाजसेवामा सक्रिय गंगा कुमारी राई, नेपाली पाठशालालाई दश वर्षदेखि निरन्तर सहयोग गर्दै आएकी व्यवसायी साङ्गे लामा गुरुङ र ’नुमा एस्टिल्लो’ की संस्थापक नताशा लिम्बु छन्।

त्यसैगरी, कम्युनिटीका पूर्व अध्यक्षहरू ललिता चोङवाङ लिम्बु, सीमा गुरुङ र कमला लिम्बुलाई उनीहरूको सफल कार्यकालका लागि दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो। महिला कम्युनिटीकी अध्यक्ष शान्ति लिम्बुको अध्यक्षता र महासचिव लक्ष्मी (लारा) राईको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल पत्रकार महासंघ यूकेकी पहिलो महिला अध्यक्ष विमला सेनेले अबको युग महिलाहरूको भएको र समान अधिकारका लागि आफूलाई सशक्त बनाउनुपर्नेमा जोड दिइन् । विशेष अतिथि इष्ट लन्डन नेपाली गोर्खा कम्युनिटीका अध्यक्ष विनय आचार्यले आगामी वर्षहरूमा पुरुषहरूको सहभागिता अझ बढाउने प्रतिवद्धता व्यक्त गरे।

संस्था स्थापनाको एक दशक पूरा भएको उपलक्ष्यमा केक काटेर खुसी साटिएको उक्त समारोहमा नेपाली गरगहना, पोसाकका स्टल, फोटो प्रदर्शनी र घरेलु नेपाली परिकारहरू मुख्य आकर्षणका रूपमा थिए। स्थानीय नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमले डायस्पोरामा नेपाली कला, संस्कृति र महिला सशक्तिकरणको सन्देश प्रवाह गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू