सोमबार, ९ मार्च, २०२६
21:54 | ०३:३९

एनआरएनए स्कटल्याण्डद्वारा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसमा विशेष सम्मान

नेपाली लिङ्क मार्च ९, २०२६

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्कटल्याण्डले एडिनबरामा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस विशेष कार्यक्रम गरेको छ।

कार्यक्रममा महिला सशक्तिकरण, समानता तथा सम्मानको सन्देश फैलाउने उद्देश्यका साथ विभिन्न क्षेत्र र संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो ।

कार्यक्रमको आयोजना र समन्वय एनआरएनए स्कटल्याण्ड महिला संयोजक शुमी भण्डारीले गरेकी थिइन् ।

कार्यक्रम सञ्चालन लक्ष्मी न्यौपान र सारदा दाहालले गरेका थिए ।

कार्यक्रमको सुरुवातमा आयोजकले अन्तर्राष्ट्रिय महिला दिवसको महत्वबारे प्रकाश पार्दै नारी शक्ति, साहस र सम्मानको प्रतीक भएको उल्लेख गरेका थिए । यस अवसरमा महिलाहरूको योगदान, अधिकार र पहिचानलाई सम्मानपूर्वक स्मरण गर्दै समाजमा महिलाको भूमिका अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याइएको थियो।

कार्यक्रममा सामाजिक व्यक्तित्व, समाजसेवी महिला सरोजा अर्याल, डा. राधा अधिकारी तथा डा. शिल्पा त्रिपाठी र प्रकृित थापाले आआफ्नो विचार व्यक्त गरे ।

डा. त्रिपाठीले स्वास्थ्य क्षेत्रमार्फत समाजसेवा कसरी गर्न सकिन्छ, महिलाले आफ्नो स्वस्थ्यमा के कस्ता कुरामा सजगता अपनाउनुपर्छ जस्ता विषयमा अनुभव बांडिन् ।

त्यसैगरी सरोजा अर्याल र डा. राधा अधिकारीले कार्यक्रममा आफ्नो अनुभव बाँड्ने अवसर प्रदान गरेकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्दै महिलाहरूको क्षमता र योगदानलाई अझ प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा एनआरएनए स्कटल्याण्डका अध्यक्ष शेर केसीले सम्बोधन गर्दै महिला सशक्तिकरणका लागि संघ सधैं प्रतिवद्ध रहेको बताए । उनले समाजमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सबैलाई महिलाको सम्मान र सहयोगमा अग्रसर हुन आग्रह गरे ।

अर्का वक्ता राम अधिकारीले महिला अधिकारका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै महिलालाई प्रेरणा, हौसला र अवसर प्रदान गर्नुपर्ने धारणा राखे ।

एनआरएनए स्कटल्याण्डका सचिव माधव भण्डारीले पनि आफ्नो मन्तव्य राख्दै महिलालाई घर, परिवार तथा समाजमा समान अवसर र सम्मान दिनुपर्नेमा जोड दिए । उनले महिलालाई साथ–सहयोग गर्दै कांधमा कांध मिलाएर अघि बढ्न सबैमा आग्रह गरे ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका महिलाहरूलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो। विभिन्न क्षेत्रबाट चयन गरिएका महिलाहरूलाई समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सांस्कृतिक झाँकी, नाचगान तथा विभिन्न प्रस्तुति पनि समावेश थियो ।

कार्यक्रममा सहभागीहरूले अन्तर्राष्ट्रिय महिला दिवस केवल उत्सव मात्र नभई महिला अधिकार, समानता र सशक्तिकरणको सन्देश फैलाउने महत्वपूर्ण अवसर भएको धारणा व्यक्त गरेका थिए। सहभागीहरूले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश फैलाउने विश्वास समेत व्यक्त गरे ।

अन्त्यमा आयोजकले सबै अतिथि, वक्ता तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि महिला सशक्तिकरण र समुदाय विकासका लागि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू