एनआरएनए युवा उपाध्यक्षमा उम्मेदवारी दिने यूकेका युवा व्यवसायी ओमनको घोषणा



लन्डन । बेलायतका युवा व्यवसायी ओमन गौचन (ह्यान्सन) ले एनआरएनए आइसीसीको आसन्न निर्वाचनमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सन् २०२१–२०२३ कार्यसमितिमा एनआरएनए यूके कार्यकारी सदस्य रहेका ओमनले युवा सशक्तिकरण र नेतृत्व विकासको प्रतिवद्धता जनाउंदै युवा उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
एक विज्ञप्ति जारी गर्दै उनले संसारभर रहेका नेपाली युवाहरूलाई जोड्दै एक सशक्त, एकीकृत र सहयोगी नेपाली परिवार बनाउने आफ्नो उद्देश्य रहेको बताए । ‘युवाहरू केवल भविष्यका नेतृत्वकर्ता होइनन्, वर्तमानका सक्रिय नेतृत्वकर्ता पनि हुन्’, उनको भनाइ छ ।
विश्वभर रहेका नेपाली युवाहरूलाई जोड्ने ग्लोवल युवा सञ्जाल बनाउने, नेतृत्व विकास, मेन्टरसीप र व्यावसायिक अवसरहरू सिर्जना गर्ने, नवप्रवर्तन, उद्यमशीलता र लगानी प्रवर्द्धन, दोस्रो र तेस्रो पुस्ताका नेपालीमा भाषा, संस्कृति र पहिचानको गर्व बढाउने, एनआरएनए आइसीसी, एनसीसी र स्थानीय नेपाली समुदायबीच राम्रो समन्वय र कामको प्रभावकारिता सुनिश्चित गर्ने तथा पारदर्शिता, जिम्मेवारी र परिणाममुखी नेतृत्व गर्ने गौचनका मुख्य प्रतिवद्धता छन् ।
गौचनले भने, ‘सशक्त युवा बिना सशक्त एनआरएनए असम्भव छ। यो केवल मेरो उम्मेदवारी होइन, यो संसारभरिका नेपालीहरूको एकता र उज्ज्वल भविष्यको अभियान हो ।’
‘एक विश्व, एक नेपाली परिवार, सशक्त, एकीकृत र उज्ज्वल भविष्यतर्फ’ उनको मिसन छ ।
गौचनले संसारभरका नेपाली सञ्चार माध्यम, संगठन र समुदायलाई युवा केन्द्रित, एकीकृत र भविष्यमुखी एनआरएनए बनाउन सहयोग गर्न अपिल गरेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं वृहत एकता अन्तर्राष्ट्रिय महाधिवेशन मार्च १४–१५, २०२६ मा काठमाडौंमा हुंदैछ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


