लन्डन ट्रोक्सीमा आज गुन्जंदैछन् ‘कुटुम्ब’ र ‘विपुल एन्ड द ट्राभलिङ ब्यान्ड’



लन्डनमा कलाकारहरु
लन्डन– लामो प्रतिक्षापछि बेलायतका संगीतप्रेमी नेपालीले ‘कुटुम्ब’ र ‘विपुल एन्ड द ट्राभलिङ ब्यान्ड’ को संगीत रसस्वादन गर्न पाउने भएका छन् ।
आज (२८ फेब्रुअरी) सांझ लन्डनको ऐतिहासिक एवं प्रतिष्ठित भेन्यू ट्रोक्सीमा ‘कुटुम्ब’ र ‘विपुल एन्ड द ट्राभलिङ ब्यान्ड’ गुन्जंदै छन् ।
लन्डनमा पहिलोपटक एकसाथ स्टेज शेयर गर्न लागेका छन् ति दुई ब्यान्ड । लन्डनमा पहिलोपटक गर्न लागिएको ‘नेपाल म्यूजिक फेस्टिभल २०२६’ का लागि ‘कुटुम्ब’ र ‘विपुल एन्ड द ट्राभलिङ ब्यान्ड’ सम्मिलित १६ सदस्यहरु गत २५ फेब्रुअरी राती लन्डन उत्रिइसकेका छन् ।
प्रवेशद्धार सांझ ६ बजे खुल्ने र ७ बजेदेखि शुरु हुने कन्सर्ट २२ः४५ सम्म ननस्टप चल्नेछ । ‘जु बार एण्ड क्लव’ मा ११ देखि ४ बजे बिहानसम्म आफ्टर पार्टी गरिंदैछ ।
कन्सर्टको सम्पूर्ण तयारी सकिएको आयोजक मामाघर इन्टरटेनमेन्ट यूकेले जनाएको छ । मामाघरका निर्देशक विमल तिमिल्सिनाले टिकट सिमित रहेकाले छिट्टै खरिद गरेर यस वर्षकै उत्कृष्ट कन्सर्टको मज्जा लिन आग्रह गरेका छन् ।
‘नेपाल म्यूजिक फेस्टिभल’ ले बेलायतमा रहेका नेपाली समुदायलाई एकै स्थानमा जोड्दै नेपाली संगीत र संस्कृति प्रवर्धनमा योगदान दिने आशा गरिएको तिमिल्सिनाले बताए ।

सन् १९३० को दशकमा निर्मित ‘ट्रोक्सी’ उत्कृष्ट साउन्ड सिस्टम, भव्य स्टेज र विशाल दर्शक क्षमताका कारण प्रतिष्ठित छ । लाइमहाउस स्टेशन नजिक अवस्थित यो एतिहासिक भेन्यूमा बलिउड, हलिउडका नामी कलाकारले समेत प्रस्तुति गर्ने गरेका छन् ।
परम्परागत नेपाली लोक–वाद्य संगीतलाई आधुनिक शैलीमा विश्वभर चिनाउन सफल छ कुटुम्ब । यसले सारङ्गी, बाँसुरी, मादललगायत मौलिक नेपाली बाजाका माध्यमबाट नेपाली लोकधुनलाई जीवन्त बनाउँदै आएको छ ।
उता, नेपाली लोक पप शैलीका गीतहरुबाट पछिल्लो पुस्तामाझ चर्चित गायक विपुल र उनको ‘द ट्राभलिङ ब्यान्ड’ का ‘सिन्डिकेट’, ‘असार’, ‘सिरिरी’, ‘राम साइली’ आदि चर्चित गीत हुन् ।
मामाघरले गत वर्ष लन्डनकै अर्को प्रतिष्ठित भेन्यू ओटुमा कन्दरा ब्याण्डको ऐतिहासिक कन्सर्ट गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


