बुधबार, २५ फ्रेब्रवरी, २०२६
17:53 | २३:३८

बेलायतमा डिजिटल यात्रा अनुमति कार्यान्वयनमा, ८५ देशका नागरिक प्रभावित

नेपाली लिङ्क फ्रेब्रवरी २५, २०२६

लन्डन। बेलायत सरकारले २५ फेब्रुअरिदेखि नयाँ डिजिटल यात्रा अनुमति लागू गरेको छ । बुधबारबाट ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन’(इटीए) नामक नयाँ डिजिटल यात्रा अनुमति प्रणाली कडाइका साथ लागू गर्न लागेको बीबीसीले जनाएको छ ।

यससँगै अमेरिका र अष्ट्रेलिया लगायत अहिलेसम्म भिसा–फ्री रूपमा बेलायत आउँदै गरेका ८५ देशका अधिकांश नागरिकले अब बेलायत यात्रा गर्नुअघि इटीए स्वीकृति अनिवार्य रूपमा लिनुपर्नेछ। सरकारले यो व्यवस्थाले अध्यागमन प्रणालीलाई थप सुरक्षित, छरितो र व्यवस्थित बनाउने दाबी गरेको छ।

इटीए बेलायत यात्रा गर्न दिइने एक प्रकारको अग्रिम डिजिटल अनुमति हो। यो स्वीकृत भएमा यात्रुले पर्यटन, व्यावसायिक भ्रमण वा छोटो अवधिको अध्ययनजस्ता उद्देश्यका लागि बेलायतमा अधिकतम ६ महिनासम्म बस्न पाउँछन्। यो अनुमति दुई वर्षसम्म वा पासपोर्टको म्याद सकिएसम्म मान्य हुनेछ। सो अवधिमा पटक–पटक बेलायत यात्रा गर्न मिल्छ, तर आवेदन दिँदा प्रयोग गरिएको पासपोर्टबाटै यात्रा गर्नुपर्ने हुन्छ।

इटीएका लागि सरकारले मोबाइल एपमार्फत आवेदन दिन सिफारिस गरेको छ। आवेदन प्रक्रियामा पासपोर्ट तथा सम्पर्क विवरण, उपयुक्त फोटो र केही प्रश्नहरूको जवाफ समावेश हुन्छन्। शुल्क हाललाई १६ पाउण्ड तोकिएको छ, तर भविष्यमा २० पाउण्डसम्म पुर्‍याउने योजना सरकारको छ।

सरकारले धेरैजसो आवेदनको स्वचालित जवाफ केही मिनेटमै आउने बताएको छ, तर यात्रुहरूलाई कम्तीमा तीन वर्किंग डे अगाडि आवेदन दिन सुझाव दिइएको छ। आवेदन अस्वीकृत भएमा कारणसहित जानकारी दिइने र पुनः आवेदन दिन सकिने बताइएको छ। तर, आवेदन अस्वीकृत भएमा त्यसको अपिलको व्यवस्था छैन र त्यस्तो अवस्थामा भिसा प्रक्रिया अपनाउनुपर्ने हुन्छ।

नयाँ नियम कार्यान्वयनमा यातायात कम्पनीहरूलाई होम अफिससँग जोडिएको डिजिटल जाँच प्रणाली उपलब्ध गराइएको छ। यात्रु चेक–इनको क्रममा वैध इटीए नभए बोर्डिङ नै रोक्न सकिने भएकाले समयमै अनुमति लिनुपर्ने देखिएको छ।

इटीए पासपोर्टसँग डिजिटल रूपमा जोडिने भएकाले सीमामा कागजी प्रमाण अनिवार्य नभए पनि अभिलेखका लागि प्रिन्ट राख्न चाहनेलाई सुविधा हुन सक्ने सरकारको भनाइ छ। यद्यपि इटीएले यात्रा अनुमति मात्र दिने भएकाले बेलायत प्रवेशका बेला पासपोर्ट नियन्त्रणमा अन्य कारण देखिए प्रवेश रोक्न सकिने व्यवस्था यथावत छ।

यस व्यवस्थाले सबैभन्दा बढी असर ‘डुअल नेशनल’ अर्थात् बेलायतसँगै अर्को देशको नागरिकता भएका व्यक्तिहरूमा परेको छ। डुअल नेशनलहरूले इटीए लिन पाउँदैनन्। उनीहरूले बेलायत प्रवेश गर्दा ब्रिटिश पासपोर्ट देखाउनुपर्ने वा आफ्नो दोस्रो देशको पासपोर्टसँग ‘सर्टिफिकेट अफ इनटाइटलमेन्ट’ को नयाँ डिजिटल संस्करण देखाउनुपर्ने हुन्छ।

ती कागजात स्वतः जारी नहुने र प्रक्रिया पूरा हुन हप्तौँ लाग्न सक्ने भएकाले धेरै डुअल नेशनलहरू ब्रिटिश पासपोर्ट निकाल्न दौडधूपमा लागेको बताइएको छ। ब्रिटिश पासपोर्टको लागत करिब १०० पाउण्ड पर्ने र ‘सर्टिफिकेट अफ इनटाइटलमेन्ट’ को शुल्क ५ सय ८९ पाउण्ड लाग्नेछ। केही डुअल नेशनलहरू नियमबारे जानकारी ढिलो भएको र परिवर्तनको तयारी गर्न पर्याप्त समय नपाएको भन्दै असन्तुष्टि जनाइरहेका छन्।

होम अफिसका अनुसार भने डुअल नेशनलहरूलाई सही कागजात बोकेर यात्रा गर्नुपर्ने सार्वजनिक सूचना अक्टोबर २०२४ देखि उपलब्ध छ र इटीए सम्बन्धी संचार अभियान २०२३ देखि चलिरहेको छ। इटीए जस्तै पूर्व–यात्रा डिजिटल अनुमति प्रणाली अन्य मुलुकहरूमा पनि प्रयोगमा छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू