ब्रिज इन्टरनेशनल र बीजीसीएलबीच टाइटल स्पोन्सर सहकार्य सम्झौता



लन्डन- बेलायतमा नेपाली समुदायद्वारा आयोजित प्रतिष्ठित क्रिकेट प्रतियोगिता ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) र शैक्षिक परामर्शदाता संस्था ‘ब्रिज इन्टरनेशनल’ बीच मुख्य प्रायोजनका लागि औपचारिक सम्झौता भएको छ।
लन्डनस्थित लिटिल काठमाडौंमा आयोजित एक समारोहमा दुवै संस्थाका प्रतिनिधिहरूले आगामी सहकार्यका लागि हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा बेलायती क्रिकेट जगतका गुलफ्राज रियाज, साइमन जोन्स र पल बेडफोर्ड लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो। उनीहरूले नेपाली समुदायले क्रिकेटमार्फत पुर्याएको योगदानको प्रशंसा गरे।
केन्ट क्रिकेट फाउन्डेसनका क्रिष्टियन राइस, किदाशा फाउन्डेसनका निक ब्यारी र पोर्चुगल क्रिकेटका पूर्व कप्तान मधुकर थापाले लिगको सफलताको कामना गर्दै नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा जोड्नुपर्नेमा जोड दिए।
ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले खेलकुद र शिक्षालाई परिपूरकका रूपमा अघि बढाउन यो सहकार्यले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे।
अध्यक्ष महेश गिरीले नेपाली मूलका खेलाडीहरूलाई एकै ठाउँमा समेटेर व्यावसायिक मञ्च प्रदान गर्न पाउनु गौरवको विषय भएको बताए।
बीजीसीएल यूकेमा नेपाली खेलाडीहरूलाई समेटेर ४० ओभरको ढाँचामा सञ्चालन भइरहेको पहिलो लिग हो, जसले पाँचवटा सफल सिजनहरू सम्पन्न गरिसकेको छ।
ह्याम्पशायर क्रिकेट बोर्ड र क्लब क्रिकेट कन्फरेन्ससँग आबद्ध यस लिगको आवश्यकता र प्राविधिक पक्षबारे अध्यक्ष गम गुरुङले जानकारी दिए। राम धमालाले स्वागत मन्तव्य राखे भने भुवन गिरीले ब्रिज इन्टरनेशनलका उद्देश्यहरूबारे बताए।
यो सहकार्यले बेलायतमा रहेका नेपाली क्रिकेट प्रेमीहरूका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


