मंगलबार, १७ फ्रेब्रवरी, २०२६
22:53 | ०४:३८

महाशिवरात्रि पर्वमा शिव मन्दिर अल्डरसटमा चौबीसै घण्टा पूजा आराधना र भजन

नेपाली लिङ्क फ्रेब्रवरी १७, २०२६

लन्डन । शिव मन्दिर अल्डरसटमा गत फेब्रुअरी १५ मा महाशिवरात्रि पर्व सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । सदाझैँ यसवर्षपनि शिव मन्दिरमा पूजा–आराधना र भजनकीर्तनका साथ चारवटै प्रहरको शिवपूजा र आराधना गरियो । १५ तारिख बिहान ७ देखि भोलिपल्ट ७ बजेसम्म चौबीसै घण्टा मन्दिरमा पूजा आराधना र भजन भएको मन्दिरका अध्यक्ष हरि भट्टराईले जनाए ।

यस वर्ष दुई हजार भक्तजनहरुले दर्शन गरेको अनुमान छ ।

शिवरात्रिको पूर्वसन्ध्यामा शिव मन्दिर कार्यसमितिका पदाधिकारीहरु र सम्पूर्ण भोलेन्टियर टिमको सहयोगमा मन्दिरमा भौतिक संरचनामा सुधार गर्दै शिवरात्रि भव्य बनाउन मन्दिरका अध्यक्ष हरिभट्टराईको संयोजकत्वमा विशेष पहल भएको थियो । मन्दिर दर्शनका लागि अल्डरसट, फानबोरो, क्याम्बर्ली, गिलफोर्ड, ब्रेकनेल, लण्डन, आसफोर्ड लगायत यूकेका धेरै शहरबाट भक्तजनहरुको सहभागिता थियो ।

मन्दिर व्यवस्थापन समितिले भक्तजनहरुको सहजताका लागि दिनभरि नै प्रसाद वितरण गरेको थियो भने करिब १००० भक्तजनले प्रसाद ग्रहण गरेको प्रसाद व्यवस्थापनमा खटिएकी पाकशाला संयोजक विमला भट्टराईले बताइन् । दिनभरिको मन्त्रको गुन्जन, संगीतमय भजन कीर्तन र निरन्तरको प्रसाद वितरणले मन्दिरको वातावरण भक्तिमय र आनन्दित बनाएको भक्तहरुको प्रतिक्रिया थियो ।

विगतका वर्षहरुभन्दा यसवर्ष धेरै भीड र भक्तजनको सदाशयता र सहयोगले विशेष रमाइलो भएको उपाध्यक्ष तथा शिवरात्री कार्यक्रम संचालक सुष्मा गुरुङले जनाइन् ।

मन्दिरमा बिहान ८ बजे, बेलुका ५ बजे, राति १२ बजे र बिहान ४ बजे अभिषेकको साथमा विशेष अर्चना र आरती तथा दिनभरिनै गुरुहरुद्वारा रुद्राभिषेक र भक्तहरुको इच्छा अनुसार पूजा भएको मन्दिरका आचार्य गुरु मधुसूदन सत्यालले बताए ।

शिवतत्वको चर्चासहित भएको रुद्राभिषेकमा भक्तजनहरुको विशेष उपस्थिति थियो । यस्ता धार्मिक र सांस्कृतिक कार्यक्रमले समाजमा धार्मिक जागरण र आध्यात्मिक उन्नयन हुने विश्वास शिव मन्दिर परिवारले गरेको छ ।

कार्यक्रममा विशेषगरी अध्यक्ष हरि भट्टराई, उपाध्यक्ष सुष्मा गुरुङ, महासचिव निरज शर्मा, सहसचिव निरज तिवारी र कोषाध्यक्ष किशोर गुरुङको साथमा कल्चरल सेक्रेटरीद्वय रुपेश काफ्ले तथा प्रणव थोटम, युवराज खत्री, सुनिल तिमल्सेना, अनिता गुरुङ, भजन संयोजक विष्णु थापा, रोहित गुरुङ तथा सम्पूर्ण पदाधिकारीहरु, ट्रष्टीहरु र प्याट्रोन काउन्सिलका सदस्यहरुसंगै विविध संघसंस्थाका विशेष प्रतिनिधिहरुको सहयोग र आपसी सामन्जस्यताले कार्यक्रम पूर्ण सफल भएको आयोजकको भनाइ छ ।

आगामी दिनमा यस्ता कार्यक्रमले समाजमा धर्म संस्कार, संस्कृतिको जगेर्ना र आध्यात्मिक जागरण पनि गराउने विश्वास शिव मन्दिर परिवारको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू