बुधबार, ११ फ्रेब्रवरी, २०२६
21:07 | ०२:५२

बेलायतको नेपाली समुदायमा घरेलु हिंसा बढेपछि सचेतना कार्यक्रम तय

नेपाली लिङ्क फ्रेब्रवरी ११, २०२६

लन्डन । बेलायतको नेपाली समुदायमा घरेलु हिंसा अप्रत्यासित वृद्धि भइरहंदा एक सचेतना कार्यक्रम गर्ने तयारी भएको छ ।

नेपलिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) र नेपलिज नर्सिङ एसोसिएसन यूके (एनएनए यूके) ले आउंदो २२ फेब्रुअरी बिहान ‘घरेलु हिंसा र मानसिक स्वास्थ्यमा यसको प्रभाव’ विषयक संयुक्त वेबीनार गर्न लागेका हुन् ।

पहिलोपटक एनबीसी यूके र एनएनए यूकेको संस्थागत सहकार्यमा हुने यस वेबीनारमा एनएचएसमा कार्यरत कन्सल्टेन्ट मनोचिकित्सक डा. देउमान गुरुङ र क्वालिफाइड सोसल वर्कर लक्ष्मी राई प्रमुख वक्ता रहनेछन् । २ घण्टा चल्ने वेबीनारमा प्रश्नोत्तर समेत राखिनेछ भने आफ्नो समस्या गोप्य राख्न चाहनेले आयोजकलाई बेग्लै सम्पर्क गर्न सक्नेछन् ।

वेबीनारमा विशेषगरि बेलायतस्थित नेपाली समुदायका अगुवाहरुलाई आमन्त्रण गरिएको छ । कार्यक्रममा सहभागिताका लागि तल दिइएको लिंकमा गएर नाम दर्ता गर्न आयोजकले आग्रह गरेका छन् ।

नेपलिज नर्सिङ एसोसिएसन यूके अध्यक्ष रस्मिता दर्लामीले संस्थाले यसअघि पनि घरेलु हिंसाबारे सेमिनार गरिसकेको तर अहिले यो समस्या जटिल बन्दै गएकाले पुनः गर्न लागिएको जनाइन् ।

‘बेलायतजस्तो विकसित देशमा आएर पनि घरेलु हिंसा सहेर बस्नु आफैंमा अपराध हो । त्यसकारण आफ्ना समस्या खुलस्त राख्न प्रेरित गर्न र सामुदायिक सचेतनाका लागि यो कार्यक्रम राखिएको हो’, रस्मिताले बताइन् ।

एनबीसी यूके अध्यक्ष समिरनाथ प्याकुरेलले संस्कृतिले निम्त्याएको अनावश्यक अहंकार, आर्थिक समस्या, मदिरापान वा कुलत आदिले घरेलु हिंसा बढिरहेको आफूले बुझेको बताए ।

समाजले के भन्ला भन्ने संकोचले प्रहरीसम्म घरेलु हिंसा नपुग्ने गरेको उनले बताए । अध्यक्ष प्याकुरेलले घरमा बाबु आमाको कलहका कारण बालबच्चालाई ‘टर्चर’ भइरहेको पनि उल्लेख गरे ।

रस्मिताले निकट भविष्यमा दुई संस्था मिलेर अरु शहरमा समेत प्रत्यक्ष कार्यक्रम गर्ने सोच राखिएको बताइन् । ‘घरेलु हिंसा के हो धेरैलाई थाहा छैन् । हामी वास्तविक घट्नामा आधारित नाटक नै देखाउन प्रभावकारी हुन्छ कि सोचिरहेका छौं’- उनले भनिन् ।

घरेलु हिंसा खासमा शारीरिक, यौन, भावनात्मक, आर्थिक, वा मनोवैज्ञानिक क्षतिसंग सम्बन्धित छ । कसैलाई डर त्रास देखाउने, अपमानित गर्ने, तर्साउने, आतंकित गर्ने, जबरजस्ती गर्ने, धम्की दिने, दोष लगाउने, चोट पुर्‍याउने जस्ता कुनै पनि व्यवहार घरेलु हिंसा मानिन्छ ।

नाम दर्ता गराउन यस लिंकमा क्लिक गर्नुहोस्

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू