बुधबार, ११ फ्रेब्रवरी, २०२६
14:55 | २०:४०

नैतिक प्रश्नले हल्लाइदियो बेलायती प्रधानमन्त्रीको कुर्सी

नेपाली लिङ्क फ्रेब्रवरी ११, २०२६

लन्डन — एउटा नियुक्तिका कारण उब्जिएको नैतिक प्रश्नले बेलायतका बहुमतप्राप्त प्रधानमन्त्री सर कियर स्टार्मरको कुर्सी यतिबेला हल्लिएको छ ।

प्रधानमन्त्री स्टार्मरले अमेरिकाका लागि बेलायती राजदूतमा नियुक्त गरेका वरिष्ठ राजनीतिज्ञ लर्ड पिटर म्यान्डल्सन र कुख्यात यौन अपराधी जेफ्री एप्सटिनबीचको निकट सम्बन्ध सार्वजनिक भएपछि त्यसले बेलायती प्रधानमन्त्रीलाई चर्को दबाबमा पारेको छ । यही विषयलाई नैतिकताको प्रश्न बनाएर उनको पार्टीभित्रै र विपक्षी पार्टीबाट उनको चर्को आलोचना मात्र होइन, राजीनामा नै माग भएको छ ।

यस प्रकरणले प्रधानमन्त्री स्टार्मरको निर्णय क्षमतामाथि मात्र नभइ सरकारको नैतिक छविमा समेत गम्भीर प्रश्न उठाएको छ । यही कारणले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार र उच्च पदस्थ अधिकारीहरु समेतले राजीनामा दिएका छन्।

सन् २०२४ को निर्वाचनमा लेबर पार्टीले ऐतिहासिक बहुमत प्राप्त गरेसंगै बेलायती प्रधानमन्त्रीको कुर्सीमा आएका स्टार्मरले सुरुमा सुधारमुखी एजेन्डा अघि सारेका थिए। उनले पारदर्शिता, संस्थागत सुधार, सार्वजनिक सेवा सुदृढीकरण र आर्थिक स्थायित्वलाई प्राथमिकतामा राखेको सन्देश दिन खोजेका थिए। तर सोसल वेल्फेयर सुधार विधेयकमा आफ्नै पार्टीभित्र असन्तुष्टिदेखि इमिग्रेसन नीति, सार्वजनिक खर्च कटौती, कर प्रणाली सुधार र विदेश नीतिलगायतमा देखिएको अस्पष्टताका कारण उनी पटक–पटक आलोचनामा परेका छन्। विपक्षीहरूले उनलाई निर्णय क्षमतामा कमजोर प्रधानमन्त्रीको रूपमा आलोचना गर्दै आएका छन्।

स्टामर नेतृत्वको वर्तमान सरकारका सिनियर मन्त्रीहरु र लेबर पार्टीकै कयौं नेताहरुले साथ नछोडेका कारण तत्काल स्टार्मर सत्ताच्यूत हुने सम्भावना देखिइसकेको छैन। उनले पनि अहिलेसम्म पद छोड्ने संकेत दिएका छैनन् । तर यो प्रकरणपछि बेलायती राजनीतिमा उनको भविष्य थप अस्थिर भने पक्कै बनेको छ ।

बेलायतमा प्रधानमन्त्रीले नियुक्त गरेको कूटनीतिज्ञ एक यौन अपराधीसंग उठबस गरेको विषय सार्वजनिक हुंदा त्यसले बहुमतप्राप्त प्रधानमन्त्रीकै कुर्सी हल्लिने गरी उनीमाथि गम्भीर नैतिक प्रश्न खडा गरिदिएको छ।

शक्ति सन्तुलन र राजनीतिक भागबण्डा नै प्राथमिक हुने हाम्रो देश नेपालको राजनीतिक नेतृत्वमा भने यो तहको नैतिकताको खोजी कल्पना गर्नै सकिंदैन । उल्टै ठूला ठूला भष्टाचार काण्डमा सिधै मुछिएका नेता र उनका आसेपासेहरु समेतले राजनीतिक शक्तिकै भरमा उन्मुक्ति पाउने गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू