आइतबार, ८ फ्रेब्रवरी, २०२६
20:53 | ०२:३८

मण्डलको शव नेपाल पठाउन शुरु गरिएको चन्दा संकलन बन्द

नेपाली लिङ्क फ्रेब्रवरी ८, २०२६


लन्डन । बेलायतमा निधन भएका नेपाली विद्यार्थी विवेकानन्द मण्डलको शव नेपाल पठाउन शुरु गरिएको चन्दा संकलन बन्द गरिएको एनआरएनए युकेले जनाएको छ।

“हामीले स्व मण्डलको परिवारको अनुरोधमा सहयोग संकलन अभियान सुरु गरेका थियौं। शनिबार अपरान्हसम्म ‘गो फण्ड मी’ मार्फत झन्डै १० हजार ३०० पाउण्ड भन्दा बढी सहयोग रकम संकलन भइसकेको छ । त्यसैले सहयोग संकलन अभियान बन्द गरिएको जानकारी गराउन चाहन्छौं,” गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले भने।

उनले यो मानवीय अभियानमा सहयोग गर्ने युकेवासी सम्पूर्ण नेपाली समुदायप्रति हार्दिक कृतज्ञता पनि व्यक्त गरे।

कानूनी प्रक्रिया पूरा भएपछि आउँदो साता शव नेपाल पठाउने योजना बनाइएको पुडासैनीले बताए ।

‘अस्पतालको कोरोनर विभागले ‘आउट अफ इंग्ल्याण्ड’ सर्टिफिकेट जारी गरेपछि नेपाली दूतावासबाट अनुमति लिएर शव पठाउने योजना छ’, उनले भने।

हनुमान नगर, कंकालिनी १० सप्तरी स्थायी निवासी २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा गत सोमबार निधन भएको थियो । श्वास प्रश्वासमा एक्कासी समस्या आएपछि मण्डल अस्पताल भर्ना भएका थिए ।

सन् २०२३ सेप्टेम्बरमा कम्प्युटर साइन्समा अण्डरग्रयाजुएट पढ्न आएका मण्डल केही महिनादेखि फोक्सो र श्वासप्रश्वास समस्याबाट पीडित थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू