शौचालयमा मोबाइल चलाउने बानीले स्वास्थ्यमा जोखिम बढ्ने


लन्डन । शौचालयमा बस्दा मोबाइल प्रयोग गर्ने वा सामाजिक सञ्जालमा हराउने बानी छ भने यो तपाईंको स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।
बेलायतका चर्चित एनएचएस चिकित्सक डा. आमिर खानले शौचालयमा लामो समय बिताउने र मोबाइल चलाउने बानीले पाइल्सको समस्या निम्त्याउने चेतावनी दिएका छन्।
हालै एक ‘पोडकास्ट’ मा कुराकानी गर्दै डा. खानले शौचालयको सिटमा बसेर लामो समयसम्म मोबाइल चलाउँदा मलद्वारको नसामा अनावश्यक दबाब पर्ने र त्यसले रगतका नसाहरू सुन्निएर बाहिर निस्कने (पाइल्स हुने) बताएका छन्।
डा. खानका अनुसार, जब मानिसहरू मोबाइलमा व्यस्त हुन्छन्, उनीहरूले आफू कति समयदेखि शौचालयमा बसिरहेको छु भन्ने बिर्सिन्छन्। शौचालयको सिटमा लामो समयसम्म बसिरहँदा मलद्वार क्षेत्रमा निरन्तर दबाब पर्छ।
“पाइल्स भनेको वास्तवमा रगतका नसाहरूको एउटा समूह हो, जुन भित्र हुनुपर्नेमा दबाबका कारण बाहिर धकेलिन्छन्,” उनले भने।
विशेषगरी पुरुषहरू शौचालयमा ४५ मिनेटसम्म पनि बस्ने गरेको र पछि पाइल्सको गुनासो गर्ने गरेको भन्दै उनले यो बानी तत्काल सुधार्न आग्रह गरे।
डा. खानले पाइल्सबाट बच्न मुख्य दुईवटा सुझाव दिएका छन्।
फाइबरयुक्त खाना
कब्जियत हुन नदिन र दिसालाई नरम बनाउन खानामा प्रशस्त फाइबर (दाल, गेडागुडी, सागपात र फलफूल) समावेश गर्ने।
समय व्यवस्थापन
शौचालयमा ५ देखि १० मिनेटभन्दा बढी समय नबस्ने र त्यहाँ जाँदा मोबाइल फोन बाहिरै राख्ने।
एनएचएसका अनुसार यदि मलद्वार वरपर चिलाउने, गिर्खा जस्तो देखिने वा दिसा गर्दा दुखाइ हुने जस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सक वा फर्मासिस्टसँग परामर्श लिनुपर्छ।
यस्तै, शौचालयमा धेरै बल नगर्न र दिसा लागेको बेला दिसा नरोक्न पनि सुझाव दिइएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



