लन्डनको आइकोनिक भेन्यूमा एकसाथ गुञ्जिंदै कुटुम्ब र विपुल, तयारी अन्तिम चरणमा



लन्डन– नेपाली संगीत क्षेत्रका दुई विख्यात धरोहर ‘कुटुम्ब’ र विपुल क्षेत्रीले एकसाथ लन्डनको आइकोनिक भेन्यू ‘ट्रोक्सी’ मा प्रस्तुति गर्दैछन् । यही २८ फेब्रुअरी शनिबार लन्डनको ऐतिहासिक र प्रतिष्ठित भेन्यू ट्रोक्सीमा ‘कुटुम्ब’ र ‘विपुल एन्ड द ट्राभलिङ ब्यान्ड’ गुन्जन लागेका हुन् ।
लन्डनमा पहिलोपटक हुने ‘नेपाल म्यूजिक फेस्टिभल २०२६’ का लागि तयारी अन्तिम चरणमा पुगेको आयोजक मामाघर इन्टरटेनमेन्ट यूकेले जानकारी दिएको छ ।
परफर्मेन्सका लागि दुवै व्याण्डका १६ सदस्यहरु फेब्रुअरी २५ मा लन्डन उत्रने कार्यक्रम छ ।
नेपाली संगीत, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्धन गर्ने उद्देश्य राखेर ‘नेपाल म्यूजिक फेस्टिभल’ को सोच बनाइएको मामाघर इन्टरटेनमेन्ट यूकेका निर्देशक विमल तिमिल्सिनाले जनाए ।
गत वर्ष लन्डनकै अर्को प्रतिष्ठित भेन्यू ओटुमा कन्दरा ब्याण्डको प्रस्तुतिमा ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको मामाघरले यसपटक पनि लोकप्रिय कलाकार र व्याण्ड छानेको छ ।
‘हाम्रो लक्ष्य नै प्रतिष्ठित भेन्यूमा क्वालिटी कार्यक्रम पस्कनु हो, त्यो पनि सबै पुस्ताका दर्शक समेट्ने गरि’, निर्देशक तिमिल्सिना भन्छन्, ‘जसले कलाकार र दर्शक दुवैको अनुभवलाई विशेष बनाउनेछ भन्ने हाम्रो विश्वास छ ।’
नेपाल म्यूजिक फेस्टिभल २०२६ ले बेलायतमा रहेका नेपाली समुदायलाई एकै स्थानमा जोड्दै नेपाली संगीत र संस्कृति प्रवर्धनमा योगदान दिने विश्वास तिमिल्सिनाको छ ।
परम्परागत नेपाली लोक–वाद्य संगीतलाई आधुनिक शैलीमा विश्वभर चिनाउन सफल ब्याण्ड हो कुटुम्ब । सारङ्गी, बाँसुरी, मादललगायत मौलिक नेपाली बाजाका माध्यमबाट नेपाली लोकधुनलाई कुटुम्बले जीवन्त बनाउँदै आएको छ ।
त्यस्तै, पछिल्लो पुस्ताका चर्चित गायक विपुल र उनको ‘द ट्राभलिङ ब्यान्ड’ नेपाली लोक पप शैलीका गीतहरुबाट लोकप्रिय छन्। ‘सिन्डिकेट’, ‘असार’, ‘सिरिरी’, ‘राम साइली’ आदि उनका चर्चित गीत हुन्।
सन् १९३० को दशकमा निर्मित ‘ट्रोक्सी’ उत्कृष्ट साउन्ड सिस्टम, भव्य स्टेज र विशाल दर्शक क्षमताका कारण प्रतिष्ठित छ । लाइमहाउस स्टेशन नजिक अवस्थित यो एतिहासिक भेन्यूमा बलिउड, हलिउडका नामी कलाकारले समेत प्रस्तुति गर्ने गरेका छन् ।
आयोजक मामाघर इन्टरटेन्मेन्टका अनुसार कार्यक्रमको तयारी उत्साहजनक रूपमा अघि बढिरहेको छ । कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीसहित केही विशिष्ट अतिथिलाई समेत आमन्त्रण गरिएको छ ।
हालसम्म अर्ली बर्ड र फस्ट फेज स्ट्याण्डिङ टिकट बिक्री भइसकेको छ । अब सेकेन्ड फेज स्ट्याण्डिङ, भिआइपी सर्कल बुथ सिटिङ र बाल्कोनी सर्कल सिटिङका टिकटमात्र उपलब्ध छन् ।
आयोजकले सिट संख्या सिमित रहेकाले यथासक्य चांडो आफ्नो स्थान सुरक्षित गर्न आग्रह गरेका छन् । उक्त कन्सर्ट सञ्चालन सिर्जना गुरुङले गर्नेछिन् ।
कार्यक्रमलाई राष्ट्रिय पोशाक घर यूकेले प्रायोजन गरेको छ भने सहप्रायोजक केआर रेकर्डस, माया इभेन्ट्स र होम हाउस छन्।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


