मंगलबार, ३ फ्रेब्रवरी, २०२६
16:55 | २२:४०

बेलायतमा नेपाली कम्युनिष्ट पार्टीनिकट संगठनहरुबीच एकता, संयोजक चुनिइन् विमला लिम्बू

नेपाली लिङ्क फ्रेब्रवरी ३, २०२६

एकता सम्मेलनले एकिकृत संगठनको संयोजकमा विमला लिम्बूलाई चयन गरेको छ ।

लन्डन- नेपाली कम्युनिष्ट पार्टीमा एकिकृत भएका विभिन्न राजनीतिक दलनिकट बेलायतस्थित प्रवास संगठनहरुबीच एकता भएको छ ।

आइतबार जुममार्फत् भर्चुअल एकता सम्मेलन गरी तत्कालीन नेपाली जनप्रगतिशील मञ्च यूके, प्रवासी नेपाली एकता मञ्च तथा जनता समाजवादी पार्टी (जसपा) प्रवास समितिबीच एकता गरिएको हो ।

एकता सम्मेलनले एकिकृत संगठन ‘प्रवासी नेपाली एकता मञ्च’ को संयोजकका रुपमा जनप्रगतिशील मञ्च यूकेकी अध्यक्ष विमला लिम्बूलाई चयन गरेको छ । सहसंयोजकमा तत्कालिन प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष देवेन्द्र श्रेष्ठ चयन भएका छन् भने सचिवको जिम्मेवारी विशेष परिस्थितिका लागि भन्दै नेकपा केन्द्रीय सदस्य विश्वासदीप तिगेलाले सम्हाल्ने भएका छन्।

जनप्रगतिशील मञ्च यूकेकी अध्यक्ष विमला लिम्बूको अध्यक्षतामा सम्पन्न सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कम्युनिष्ट पार्टीका नेता देवप्रसाद गुरुङले नेपालको स्वाधिनता, स्थायित्व र लोकतान्त्रिक भविष्य सुरक्षित गर्न एकताको अपरिहार्य आवश्यकता औंल्याए । विशेष अतिथि श्रीप्रसाद साहले बेलायतबाट सुरु भएको एकताले प्रवासी समुदायमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्दै प्रवासमा रहेका संगठनहरूबाट नैतिक, वैचारिक र संगठनात्मक सहयोगको अपेक्षा गरिएको बताए।

प्रवासी नेपाली एकता मञ्च यूकेका पूर्वअध्यक्ष कृष्ण तिवारीले सञ्चालन गरेको सम्मेलनमा नेकपाका केन्द्रीय सदस्यहरू सुभाष पोखरेल, विश्वासदीप तिगेला, लिला सेलिङ (मावो), नेकपाका पूर्व प्रवास समिति उपाध्यक्ष उमेश मोक्तान, प्रवास समिति महिला विभाग प्रमुख सुष्मा भुसाल, युरोप मोर्चाका अध्यक्ष कृष्ण तिवारी, युरोप इन्चार्ज रण केसी, अध्यक्ष चित्र सुवेदी, प्रवास तथा युरोपका अग्रज नेताहरू, नेपाली जनप्रगतिशील मञ्च यूकेका पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, नेपाली प्रवासी एकता मञ्च यूके, जनता समाजवादी पार्टी (जसपा) लगायतका संगठनका प्रतिनिधिको सहभागिता थियो।

सो अवसरमा पूर्व प्रवासी नेपाली एकता मञ्च यूकेका अध्यक्ष देवेन्द्र श्रेष्ठले आयोजकको तर्फबाट स्वागत मन्तव्य राख्दै सम्मेलनको उद्देश्य, एकताको आवश्यकता र वर्तमान राजनीतिक सन्दर्भबारे धारणा राखे। जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समिति सदस्य तथा पूर्व प्रवास समिति सह–कोषाध्यक्ष लिला सेलिङले धन्यवाद ज्ञापन गरिन्।

सम्मेलनमा पार्टी एकतालाई संस्थागत र मजबुत बनाउने, यूकेस्थित प्रवासी संगठनलाई प्रभावकारी बनाउने, कार्यकर्ता परिचालनलाई व्यवस्थित गर्ने तथा भावी कार्यदिशा तय गर्ने लगायतका विषयमा गहन छलफल भएको संयोजक विमला लिम्बूले बताइन् । एकतापछिको औपचारिक अधिवेशन केन्द्रको परिपत्र अनुसार आगामी छ महिनाभित्र सम्पन्न गरिने उनले जानकारी दिएकी छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू