मंगलबार, ३ फ्रेब्रवरी, २०२६
17:03 | २२:४८

कीर्तिमानी कराते स्टार एरिका तमुधिं यूके भवनमा सम्मानित

नेपाली लिङ्क फ्रेब्रवरी ३, २०२६

लन्डन- प्रशिक्षणका क्रममा बेलायत आएकी अन्तर्राष्ट्रिय कराते च्याम्पियन एरिका गुरुङलाई बेलायतको प्रतिष्ठित संस्था तमुधिं यूकेले स्वागत सम्मान गरेको छ।

सोमबार मिचेटस्थित तमुधिं भवनमा एक विशेष कार्यक्रमबीच अध्यक्ष जुमकाजी गुरुङसहितका पदाधिकारीले संस्थाको तर्फबाट एरिकालाई स्वागत तथा सम्मान गरेका हुन् ।

सो अवसरमा उनका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ र अन्तर्राष्ट्रिय कराते रेफ्री तारा श्रेष्ठ (गुरुङ) लाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा मन्तव्य राख्दै तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले एरिका तथा उनको टोलीको निरन्तर प्रगतिको कामना गरे । अध्यक्ष गुरुङले एरिकाको यस भ्रमणले बेलायतमा रहेका नेपाली खेलप्रेमीहरूमा उत्साह र प्रेरणा थपिदिएको बताए ।

सम्मानित भएपछि एरिकाले प्रवासमा रहेर पनि नेपाली समुदायले देखाएको माया र सम्मानले आफूलाई थप जिम्मेवारी महसुस गराएको प्रतिक्रिया दिइन्। उनले समुदायको यो स्नेहले अझ राम्रो खेल्न र विश्वमा नेपालको नाम चम्काउन हौसला मिलेको समेत बताइन्।

कार्यक्रममा तमुधिं यूके निवर्तमान अध्यक्ष हरि गुरुङले संस्थाले स्थापनाकालदेखि नै सामाजिक तथा खेलकुद क्षेत्रमा पु¥याउँदै आएको योगदानबारे चर्चा गरे।

ट्रष्टी सूर्य गुरुङ र आमा समूहकी संस्थापक अध्यक्ष पुनम गुरुङले एरिकालाई आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरे।

तमुधिं यूकेका अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कमल गुरुङले स्वागत मन्तव्य राखेका थिए भने महासचिव डा. विशाल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।

सो अवसरमा प्रशिक्षक कुशल श्रेष्ठले नेपालमा करातेको वर्तमान अवस्था र एरिकाको सफलता यात्राबारे जानकारी गराएका थिए। उनले एरिकामा अझै धेरै नयाँ कीर्तिमान राख्न सक्ने क्षमता र स्पष्ट योजना रहेको प्रष्ट्याए।

कार्यक्रममा सहभागीहरूले एरिकालाई नेपाली समुदायको गौरवको रूपमा उल्लेख गर्दै उनको खेल यात्राले विश्व मञ्चमा नेपालको नाम उज्यालो बनाएको बताएका थिए ।

हालै टर्कीको इस्तानबुलमा सम्पन्न ‘कराते १ प्रिमियर लिग’ मा ऐतिहासिक रजत पदक जितेपछि एरिका बेलायत आएकी हुन्। यो एरिकाको पहिलो बेलायत भ्रमण हो।

उनले नेपालका लागि एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितिसकेकी छन् ।

प्रशिक्षणका लागि बेलायत आएकी एरिका र उनको टोली बेलायतमा रहुञ्जेल व्यवस्थापन तथा समन्वयको जिम्मेवारी तमुधिं यूकेले नै सम्हालेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू