मंगलबार, ३ फ्रेब्रवरी, २०२६
03:53 | ०९:३८

बेलायत पढ्न आएका अर्का विद्यार्थीको दुःखद निधन

नेपाली लिङ्क फ्रेब्रवरी ३, २०२६

लन्डन । बेलायत पढ्न आएका अर्का एक नेपाली विद्यार्थीको असामयिक निधन भएको छ ।

हनुमान नगर, कंकालिनी १० सप्तरी स्थायी निवासी २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा निधन भएको चिकित्सकलाई उधृत गर्दै एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले बताए ।

पारिवारिक श्रोतका अनुसार, सन् २०२३, सेप्टेम्बरमा कम्प्युटर साइन्समा अण्डरग्रयाजुएट पढ्न आएका मण्डल केही महिनादेखि फोक्सो र श्वासप्रश्वास समस्याबाट पीडित थिए ।

आइतबार श्वास प्रश्वासमा समस्या भएपछि मण्डलले छिमेकी दिदी गरिमा मल्ललाई फोन गरेर आफ्नो व्यथा सुनाएका थिए । गरिमाले तुरुन्त अस्पताल जान सुझाएपछि सन्डरल्याण्ड रोयल अस्पताल गएका मण्डललाई आइटियूमा राखेर उपचार शुरु गरिएको थियो । तर, चिकित्सकले सोमबार उनलाई मृत घोषित गरेको एनआरएनए यूके अध्यक्ष पुडासैनीले बताए ।

पुडासैनीले परिवारको आग्रह बमोजिम स्वर्गीय मण्डलको शव नेपाल पठाउन प्रक्रिया शुरु गरिने बताए ।

मण्डल अध्ययन नसकिंदै नेपाल फर्कने तयारीमा थिए । सन्डरल्याण्ड युनिभर्सिटीलाई तिर्न बांकी शुल्क तीन हजार पाउण्ड नतिरेका कारण उनी निष्कासित भएका थिए । उनको बेलायत बस्न पाउने अवधि १४ फेब्रुअरी २०२६ सम्म थियो ।

विश्वविद्यालयले निष्कासन गरेपछि अर्को आवेदन नदिए विद्यार्थीलाई ६० दिनसम्म बेलायत बस्न पाउने अधिकार हुन्छ ।

पुडासैनीले विद्यार्थीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न र केही समस्या भए तुरुन्त अस्पताल जान सुझाएका छन् ।

‘यहां आएका विद्यार्थी भाईबहिनीहरु अस्पताल जान पनि हिच्किचाउंछन्, जिपीमा नाम दर्ता गर्न संकोच मान्छन् अनि स्वास्थ्य समस्याले जटिल रुप लिन्छ’, पुडासैनीले भने-‘नेपाली समुदायले पनि अब जनचेतना जगाउनु पर्ने बेला आइसकेको छ ।’

उनले बेलायतको अवस्था निकै जटिल भएकाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अण्डर ग्रयाजुएट पढ्न नआउन पनि जोड दिए ।

‘बेलायत हेर्दा राम्रो छ, फोटो खिच्दा राम्रो देखिन्छ, तर जीवन निर्वाह गर्न निकै कठिन छ’, उनले भने, ‘बेलायतमै ‘सेटल्ड’ परिवारलाई त जिन्दगी सोचेजस्तो छैन् भने भर्खर आएका विद्यार्थीलाई त झन् अकल्पनीय दुःख छ ।’

पछिल्लो समय बेलायत पढ्न आएका विद्यार्थीको दुःखद निधनका घट्ना बढिरहेको छ । नयां परिवेश, अपेक्षा बढी तर वास्तविकता फरक, जागिर अभाव, विश्वविद्यालयका लागि बेहोर्नुपर्ने आर्थिक भार आदि कारण कयौं विद्यार्थी मानसिक समस्याबाट पीडित बनेका पाइएको छ भने कतिपयले आत्महत्या समेत गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू