बेलायतका नेपालीको सुखी र समृद्ध जीवनशैली प्रवर्द्धन गर्दै जीवन विज्ञान यूकेका ६ वर्ष



लन्डन — योग, ध्यान र अध्यात्ममार्फत स्वस्थ, सुखी र समृद्ध जीवनशैली प्रवर्द्धन गर्दै आएको सामाजिक संस्था जीवन विज्ञान यूकेले आइतबार भर्चुअल माध्यमबाट आफ्नो छैठौं वार्षिकोत्सव मनाएको छ।
कार्यक्रमका मुख्य वक्ता तथा गुरुदेव एल. पी. भानु शर्माले जीवन विज्ञान अभियान सम्पूर्ण विश्वका लागि अध्यात्मको मार्गचित्र भएको उल्लेख गर्दै नेपालले हजारौं वर्षदेखि संरक्षण गर्दै आएको प्रामाणिक ध्यान र योग परम्परालाई विश्वसामु प्रस्तुत गर्नु आजको आवश्यकता भएको बताए । “प्रत्येक नेपाली जन्मजात योगी हो,” उनले भने, “युद्ध र अशान्तिले आक्रान्त विश्वलाई नेपालले स्वास्थ्य, शान्ति र आरोग्यको सन्देश दिन सक्छ।”
गुरुदेव शर्माले नेपाललाई हिमवत् खण्ड र आरोग्य भूमिको रूपमा चित्रण गर्दै नेपालको आर्थिक प्रगति र समृद्धिको मेरुदण्ड आरोग्य पर्यटन हुन सक्ने धारणा राखे । उनले आरोग्य पर्यटन नीति बनाउन नेपाल सरकारसंग काम गरिरहेको बताउंदै यसलाई नेपालको भविष्यको ठूलो सम्भावनाका रूपमा व्याख्या गरे । “यदि कोही रोगी र भोगी छ भने त्यो नेपाली होइन। नेपालीले ठगी, भ्रष्टाचार र अनैतिक कामबाट जीवन चलाउँदैन।”
उनले आगामी जुलाई २५ देखि ३१ सम्म चक्र विज्ञान र अगस्ट १ देखि ७ सम्म दक्षिण पूर्वी लन्डनमा चक्र विज्ञान तथा ऐश्वर्य विज्ञान सम्बन्धी प्रशिक्षण सञ्चालन हुने समेत अवगत गराए । उनका अनुसार चक्र विज्ञानले मानव शरीरभित्र रहेका सात शक्ति केन्द्रलाई जागृत गरी आन्तरिक बल प्रदान गर्छ भने ऐश्वर्य विज्ञानले जीवनमा सुख, शान्ति र समृद्धिको आधार तयार पार्छ।
यी तालिमहरू १० वर्षदेखि १०० वर्ष उमेर समूहका व्यक्तिहरूले पनि गर्न सक्छन्, गुरु शर्माले भने ।
यसै गरी गुरुदेव रमेश नेपालले चक्र विज्ञान र ऐश्वर्य विज्ञान जीवनको सुख, शान्ति र समृद्धिको आधार भएको उल्लेख गर्दै सबैलाई सहभागी हुन आग्रह गरे ।

गुरुदेवद्वय एल. पी. भानु शर्मा र रमेश नेपाल
कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले जीवन विज्ञान यूकेको योगदानको प्रशंसा गर्दै समाजका लागि समर्पित भावनाका साथ काम गर्नु सराहनीय रहेको बताए । “जीवन जिउने कला मात्रै होइन, आफूलाई चिन्ने ज्ञान पनि जीवन विज्ञानले दिएको छ,” उनले भने । केही वर्षअघि परराष्ट्र मन्त्रालय तथा दूतावासमा आयोजित कार्यक्रममा जीवन विज्ञान यूकेको सहभागिता स्मरण गर्दै उनले गत २१ डिसेम्बर २०२५ का दिन दूतावासमा विश्व ध्यान दिवस आयोजना गर्न सहकार्य गरेकोमा जीवन विज्ञान यूकेलाई धन्यवाद दिए ।
दुवाडीले नेपाली समुदायसहित सबै समुदाय लाभान्वित हुने गरी यो अभियान निरन्तर चलिरहोस् भन्ने शुभकामना व्यक्त गर्दै दूतावासको पूर्ण सहयोग रहने प्रतिवद्धता पनि जनाए ।
कार्यक्रममा गुरुदेवद्वय एल. पी. भानु शर्मा र रमेश नेपालको उपस्थिति थियो। ट्रष्टी तुलसी पौडेलले संस्थाको पछिल्लो एक वर्षको गतिविधिबारे संक्षेपमा जानकारी गराए । उनले जीवन विज्ञान यूकेको स्थापना १ फेब्रुअरी २०२० मा भएको र डिसेम्बर २०२३ मा गीता जयन्तीदेखि दैनिक योग साधना सुरु हुनु भन्दा पहिला गुरु रमेश नेपालद्वारा वाचन गरिएको गीता श्लोक दैनिक श्रवण गरिने गरेको पनि जानकारी दिए । संस्था च्यारिटी कमिशनमा दर्ता भइसकेको र प्रत्येक आइतबार भौतिक रूपमा योग साधना कार्यक्रम ७ २०२५ देखि सञ्चालन हुँदै आएको पनि उनले जानकारी दिए ।
कार्यक्रममा भजन, नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरू पनि समावेश थिए। बालिका शिवानी केसी र सरिता शर्माबाट भजन, चापागाईंको नृत्य प्रस्तुति, साथै रुबिना श्रेष्ठ, योगेन्द्र लिम्बु र मिश्रा लिम्बुद्वारा भजन प्रस्तुत गरियो। पं. निलहरि घिमिरेले दीप प्रज्वलन गर्दै भजन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्त्यमा ट्रष्टी प्रेम खड्काले जीवन विज्ञानका संस्थापक गुरुदेवद्वय, प्रमुख अतिथि, प्रशिक्षक तथा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रम सञ्चालन ट्रष्टी तथा योग प्रशिक्षक सरिता शर्माले गरेकी थिइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


