आइतबार, १ फ्रेब्रवरी, २०२६
22:53 | ०४:३८

गोर्खा आन्दोलनका लागि आफ्नो घर खेत बेचे, अहिले आर्थिक अभावका कारण चन्दाको अपेक्षा

नरेन्द्र बस्नेत फ्रेब्रवरी १, २०२६

लन्डन । बेलायतमा भूतपूर्व गोर्खा र उनीहरूका परिवारले दशकौँदेखि भोग्दै आएको ऐतिहासिक अन्यायविरुद्ध ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले खेलेको भूमिका निकै प्रशंसनीय छ। गोर्खाली र तिनका परिवारको सेवा सुविधा सुनिश्चित गर्न यस समितिले कानुनी लडाइँ र सडक आन्दोलन मात्र गरेन, यसमा आवद्ध अभियन्ताहरूले आफ्नो ज्यानको बाजी राखेर आमरण अनसनसम्म बसे ।

यसै अभियानका एक सक्रिय अभियन्ता एवं अनसनकारी हुन् भूतपूर्व गोर्खा ज्ञानराज राई । राई ति अभियन्ता हुन् जसले आफ्नो ज्यानको पर्वाह नगरि बेलायत सरकारविरुद्ध दुई दुई पटक भोक हडतालमा बसे । यही कारण अहिले उनको स्वास्थ्य अवस्था पनि जटिल बनिरहेको छ ।

राईले गोर्खा सत्याग्रहको यो ठूलो योगदानलाई अहिले आफ्नै गोर्खाली समुदायले उपेक्षा गरिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले ठूलो त्याग, तपस्या र बलिदानबाट स्थापित यस संगठनलाई अझ सशक्त र सक्रिय ढंगले अघि बढाउन सम्पूर्ण गोर्खा समुदाय एकताबद्ध भएर सहयोगमा जुट्नुपर्नेमा जोड दिए ।

पेशागत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गोर्खा परिवारको हितलाई सधैँ प्राथमिकतामा राखेको बताउँदै राईले आफूले नेपाल र विदेशमा आर्जेको सम्पत्ति समेत सेवा र सहयोगमै समर्पित गरेको जानकारी दिए। भाडाको घरमा बसेर भए पनि गोर्खाहरूको अधिकारका लागि लडिरहेको उल्लेख गर्दै उनले गोर्खा र तिनका परिवारलाई बेलायत ल्याउन सत्याग्रहले पुर्‍याएको योगदानलाई गोर्खा र तिनका परिवारले कहिल्यै भुल्न नहुने धारणा राखे ।

पछिल्लो समय सत्याग्रहलाई ठूलो आर्थिक भार परेको दुःखेसो पोख्दै राईले सबैलाई सक्दो सहयोग गर्न अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत पटक–पटक सहयोगको आह्वान गर्दा पनि गोर्खा सन्ततिहरूले वास्ता नगरेकामा उनको गुनासो छ।

ठूलो सङ्घर्ष गरेर गोर्खा परिवारलाई बेलायत आउन आवश्यक मुद्दा गर्दा लाग्ने खर्च र भिसा शुल्कमा व्यापक कटौती गराउन सफल भएकै कारण धेरैले बेलायत आउने अवसर पाएको उनले स्मरण गरे । पहिला एउटा मुद्धा लड्न स्थानीय बेलायती वकिलहरूले जनही झण्डै ४ हजार पाउन्ड लिने गरेकामा सत्याग्रहले नेपाली वकिलहरूलाई एकताबद्ध गराएर सोही कानुनी खर्च १,२०० पाउन्डमा झारेको र यसले गर्दा धेरै गोर्खा परिवार महँगा वकिलहरूको शोषणबाट जोगिएका उनको भनाइ छ ।

त्यसैगरी, पहिले २,२०० पाउन्ड लाग्ने भिसा शुल्क ८६५ पाउन्डमा झारिएको र १,५०० पाउन्ड बराबरको स्वास्थ्य शुल्क समेत हटाउन सफल भएको उनले जानकारी दिए ।

सन् २०१४ मा २८ वर्षसम्मका सन्तानलाई मात्र भिसा दिने प्रस्ताव आउँदा त्यसलाई ‘ऐतिहासिक अन्याय’ भन्दै अदालत जाने अडान लिएकै कारण अहिले ७३ वर्षसम्मका छोराछोरीसम्मलाई मुद्दा लडाएर बेलायत ल्याउने प्रक्रिया अघि बढिरहेको राई बताउंछन् । ठग दलालहरूलाई निरुत्साहित गर्दै आफ्नो व्यक्तिगत काम छाडेर दिनको १८ घण्टासम्म गोर्खा परिवारलाई निःशुल्क सल्लाह र अनुभव बाँढिरहेका राईले ज्वाइँ, बुहारी र नातिनातिना बेलायत ल्याउन ठूलो रकम जुटाउन नसक्नेहरूका लागि पनि वैकल्पिक समाधानका उपायहरू खोजिरहेका छन्।

उनले गोर्खा परिवारलाई सहयोगका लागि आह्वान गर्दै आफूलाई व्यक्तिगत रूपमा रक्सी वा चन्दा नचाहिने तर गोर्खा सत्याग्रहका लागि एक–दुई दिनको तलब मात्र सहयोग गरे पनि त्यो संस्थाका लागि ठूलो राहत हुने बताए।

यदि कसैलाई कुनै पनि सहयोगको आवश्यकता परेमा सहयोग माग्न नहिचकिचाउन आग्रह गर्दै उनले काम नपाउन्जेलसम्म भूपू गोर्खालीका छोराछोरीहरूले युनिभर्सल क्रेडिट र घरभाडा सुविधा प्रयोग गर्न सक्ने र त्यसले कुनै कानुनी असर नपर्ने कुरा स्पष्ट पारेका छन्।

गोर्खा सत्याग्रह अभियानले बेलायतमा गोर्खा परिवारको पुनर्मिलन र सम्मानको लडाइँलाई नयाँ उचाइमा पुर्‍याइरहेकाले यसमा संलग्न सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा थप साथ र समर्थनका लागि उनले अपिल गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू