एनआरएनए आइसीसीको ‘बेथिति’ बारे एनआरएनए यूकेले गरायो ध्यानाकर्षण



फाइल तस्विर
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले संस्थागत एकता, विधिको शासन र आर्थिक पारदर्शिताका विषयमा एनआरएनए आइसीसीको गम्भीर ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष महेश श्रेष्ठलाई इमेलमार्फत आधिकारिक पत्र पठाउँदै एनआरएनए यूकेले खबरदारी गरेको हो।
एनआरएनए यूकेका अनुसार १८ जनवरी २०२५ मा अल्डरशट, यूकेमा विभिन्न संघसंस्था, विज्ञ र सामाजिक व्यक्तित्वहरूको सहभागितामा भएको खबरदारी भेलाले एनआरएनए आइसीसीमा देखिएका बेथिति र कथित एकता महाधिवेशनका विषयमा सम्बन्धित पक्षलाई औपचारिक रूपमा सचेत गराउने निर्णय गरेको हो।
उक्त भेलामा एनआरएनए यूकेका अध्यक्ष तथा भ्रष्टाचारविरुद्ध सक्रिय अभियन्ता प्रेम गाहा मगरको विशेष भूमिका रहेको बताइएको छ ।
पत्रमा एनआरएनए आइसीसीमा भइरहेको ठूलो आर्थिक अपचलन, एकता महाधिवेशनको पूर्वसन्ध्यामा भएको पाँच बुँदे सहमति कार्यान्वयन नहुनु, वंशजको नेपाली नागरिकता निरन्तरताको विषय तथा विश्वभर रहेका गैरआवासीय नेपालीहरूको सदस्यतासम्बन्धी सवालमा देखिएको मौनताप्रति गम्भीर आपत्ति जनाइएको छ।
एनआरएनए यूकेले पहिल्यै भएको सहमति कार्यान्वयन नगरी सीमित व्यक्तिको राजनीतिक स्वार्थ र लाभका लागि फेरि अर्को कथित एकता महाधिवेशनको नाममा भइरहेका गतिविधि असह्य भएको स्पष्ट गरेको छ।
साथै, सर्वोच्च अदालतले दिएको परमादेशको मर्मविपरीत बद्री केसी समूहसँग मिलेर गरिएको एकपक्षीय निर्णयले बेलायतका २३ हजार पञ्जीकृत सदस्यहरूको भावना र लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरेको र यसले संस्थाको छविमा गम्भीर क्षति पुर्याएको एनआरएनए यूकेको ठहर छ।
एनआरएनए यूकेले पत्रमार्फत १० दिनभित्र चित्तबुझ्दो जवाफ नआए ठगी तथा पदीय दुरुपयोगको अभियोगमा आवश्यक कानूनी प्रक्रिया अगाडि बढाउन वाध्य हुने चेतावनी पनि दिएको छ । भेलाको निर्णय र थप विस्तृत विवरण आधिकारिक पत्रमार्फत पठाइएको जनाइएको छ ।

केन्द्रलाई पठाइएको पत्र यस्तो छ:



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


