आइतबार, ११ जनवरी, २०२६
19:58 | ०१:४३

मिडल्यान्डको वुल्भरह्याम्प्टनमा पहिलोपटक मनाइयो पृथ्वी जयन्ती तथा एकता दिवस

नेपाली लिङ्क जनवरी ११, २०२६

लन्डन- वेष्ट मिडल्यान्डको वुल्भरह्याम्प्टनस्थित हाम्रो नेपाली समाजले एक विशेष कार्यक्रम गरी ३०४औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ।

समाजकी नवनिर्वाचित अध्यक्ष लक्ष्मी खराल गैरेको अध्यक्षतामा आइतबार स्थानीय भिक्टोरिया पबमा कार्यक्रम सम्पन्न भएको हो।

हाम्रो नेपाली समाजले पहिलोपटक आयोजना गरेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम मिडल्यान्डमै पहिलो पटक भएको आयोजकले बताएका छन्।

कार्यक्रमका सहभागीहरुले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई स्मरण गर्दै उनको तस्विरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरे।उनीहरुले नेपाल राष्ट्रका निर्माताको रुपमा पृथ्वीनारायणको सम्झना र सम्मानमा कन्जुस्याइं गर्न नहुने धारणा राखे।

कार्यक्रम सञ्चालक संस्थाका महासचिव ईश्वर रिजालले राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराए। त्यस्तै, पूर्व उपाध्यक्ष ऋषिराम सापकोटाले वर्तमान नेपालमा पनि एकता दिवसको महत्व र सान्दर्भिकताबारे विचार राखे।

समाजकी अध्यक्ष लक्ष्मी खराल गैरेले मिडल्यान्ड क्षेत्रमै पहिलोपटक हाम्रो नेपाली समाजले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रमको सफल आयोजना गर्न सकेकोमा खुशी व्यक्त गरिन्। राष्ट्र निर्माताको सम्मानमा आगामी वर्षहरूमा झन् ठूलो र भव्य कार्यक्रम आयोजना गरिने प्रतिबद्धता उनले जनाइन्।

कार्यक्रममा संस्थाका कार्यसमिति सदस्यहरू, सल्लाहकारहरू, पूर्व अध्यक्ष तथा सदस्यहरूको उत्साहजनक उपस्थिति थियो।

कार्यक्रमका सबै सहभागी तथा सहयोगीलाई संस्थाका तर्फबाट अध्यक्ष खरालले धन्यवाद ज्ञापन गरेकी छन्।

कार्यक्रमका लागि भिक्टोरिया पबका सञ्चालक राज कँडेल र नारायण कँडेलले भेन्यूका साथ निःशुल्क चिया, कफी तथा खाजाको व्यवस्था गरेकोमा संस्थाले आभार व्यक्त गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू