तमु समाज यूकेद्वारा दुई वरिष्ठ समाजसेवीलाई ‘विशिष्ट समाजसेवा सम्मान’



लन्डन । तमु समाज यूकेले समाजमा दीर्घकालीन, निष्ठावान् र समर्पित सेवा पुर्याउँदै आएका दुई वरिष्ठ समाजसेवी याम बहादुर गुरुङ र खेमबहादुर गुरुङलाई ‘विशिष्ट समाज सेवा सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड– २०२६)’ प्रदान गरेको छ ।
समाजले गत ३ जनवरी २०२६ का दिन लन्डनस्थित ह्यारो लेजर सेन्टरमा आयोजित तमु जातिहरूको महान् पर्व त ल्होछार-ल्होसार समारोहमा उक्त सम्मान प्रदान गरेको हो ।
उक्त समारोहमा प्रमुख अतिथि लन्डन बरो अफ ब्रेन्टका मेयर काउन्सिलर रायन ह्याक, तमु समाज यूकेकी अध्यक्ष विन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ तथा आमा समूहकी अध्यक्ष विमला गुरुङले सम्मानित व्यक्तित्व र उनीहरुका धर्मपत्नीलाई खादा, फेटा, दोसल्ला तथा पुष्पगुच्छा प्रदान गरी सम्मान गरेका थिए ।
सम्मान प्रदान गर्दै प्रमुख अतिथि मेयर ह्याकले नेपाली समुदायले बेलायतको सामाजिक, सांस्कृतिक तथा मानवीय क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गरे ।
उनले भने, ‘तमु समाज यूके नेपाली समुदाय र बेलायतको वहुसांस्कृतिक समाजको महत्वपूर्ण हिस्सा हो। आज सम्मानित व्यक्तित्वहरूले समुदाय र मानव सेवाका लागि देखाउनुभएको समर्पण सबैका लागि प्रेरणाको स्रोत बनेको छ।’
अध्यक्ष गुरुङ घलेले सम्मानित व्यक्तित्वहरूको दीर्घकालीन योगदानको स्मरण गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिन् ।
तमु समाज यूकेले आफ्नो परम्परालाई निरन्तरता दिँदै हरेक वर्ष ल्होछार-ल्होसारको अवसरमा समाजको नेतृत्व तहमा रही कार्यकारिणी जिम्मेवारी सम्हाल्दै अतुलनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्दै आएको छ।

प्रविधि र आर्थिक सुदृढीकरणका सारथी याम बहादुर गुरुङ
नेपालको पोखरा महानगरपालिका–२३, कुदवीडाँडा स्थायी घर भई हाल लन्डन, यूकेमा बसोबास गर्दै आएका याम बहादुर गुरुङ सन् २०१० देखि तमु समाज यूकेमा सक्रिय रहँदै आएका छन् ।
उनले सन् २०१२ देखि वेवमास्टरको जिम्मेवारी सम्हाल्दै समाजको डिजिटल उपस्थिति सुदृढ र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । सन् २०१८ देखि २०२१ सम्म पाँचौँ कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारी सम्हाल्ने क्रममा उनकै नेतृत्वमा आयोजित भव्य च्यारिटी डिनरमार्फत उल्लेखनीय कोष संकलन भई तमु समाज यूकेले आफ्नै सामुदायिक भवन खरिद गर्न ऐतिहासिक सफलता हासिल गरेको थियो ।
आर्थिक कारोबारमा उच्च पारदर्शीता र इमान्दारिता कायम गर्दै उनले समाजको आय–व्यय विवरण चुस्त–दुरुस्त राखी छैटौँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए । उनकी धर्मपत्नी श्रीमती सारा गुरुङले तेस्रो कार्यसमितिमा सदस्यको रूपमा सेवा गरेकी थिइन् । हाल उनी आमा समूहकी सदस्य तथा समाजका कार्यक्रमहरूमा प्राथमिक उपचारिका (फस्ट एडर) का रूपमा सक्रिय रहँदै समाजसेवामा निरन्तर योगदान दिँदै आएकी छन् ।

परोपकार र कुशल व्यवस्थापनका प्रतीकः खेम बहादुर गुरुङ
नेपालको पर्वत जिल्ला, कुश्मा नगरपालिका–३, दुर्लुङ कोटथर स्थायी घर भई हाल लन्डन, यूकेमा बसोबास गर्दै आएका खेमबहादुर गुरुङ सन् २०१० देखि तमु समाज यूकेमा आवद्ध भएर निष्ठावान् र परोपकारी सेवामा सक्रिय छन् ।
पाँचौँ कार्यसमितिमा सक्रिय सदस्यका रूपमा सेवा गरेका उनले सन् २०२१ देखि २०२४ सम्म छैटौँ कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारी सम्हाले । उनको कार्यकालमा नेपाल तथा पाकिस्तानका बाढीपीडित, युक्रेन युद्धबाट प्रभावित नागरिक, क्यान्सर रोगीहरूका लागि उल्लेखनीय राहत संकलन गरिएको थियो। साथै, बेलायत आएको केही दिनमै निधन भएका नेपाली विद्यार्थीको परिवारलाई सहयोग जुटाउने कार्यमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो।
नेपालमै पुगेर क्यान्सर पीडितको घरमै राहत हस्तान्तरण गर्ने जस्ता प्रत्यक्ष मानवीय सेवामा उनले विशेष सक्रियता देखाए । कार्यकालको अन्त्यमा सामाजिक भवनको मोर्गेज घटाउन तथा च्यारिटी डिनर नाइट सफलतापूर्वक सञ्चालन गर्दै ठूलो कोष संकलन गरी सातौँ कार्यसमितिलाई मजवुत आर्थिक आधार हस्तान्तरण गर्न उनी सफल रहे । हाल उनी तमु समाज यूकेको सल्लाहकार छन् ।
उनकी धर्मपत्नी श्रीमती भद्र गुरुङ छैटौँ कार्यसमितिमा सक्रिय सदस्य थिइन् । हाल उनले आमा समूहकी सल्लाहकारका रुपमा समाजलाई निरन्तर उर्जा प्रदान गरिरहेका छन् ।
तमु समाज यूकेले याम बहादुर गुरुङ र खेम बहादुर गुरुङको दीर्घकालीन, निष्ठावान् तथा अतुलनीय योगदानको कदर गर्दै प्रदान गरिएको यो सम्मान भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरेको छ ।

-शिवकुमार गुरुङ
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



