बिहीबार, ८ जनवरी, २०२६
20:44 | ०२:२९

बेलायत पढ्न आएको ३ महिनामै बेपत्ता भए २६ वर्षीय शंकर साह

नेपाली लिङ्क जनवरी ७, २०२६

लन्डन- अध्ययनका लागि बेलायत आएको तीन महिना नपुग्दै एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् ।

लन्डनको विपीपी युनिभर्सिटीमा अध्ययनरत महोत्तरीको जलेश्वर ११ पिगौनाका २६ वर्षीय शंकर साह झण्डै तीन सातादेखि सम्पर्कविहिन बनेका हुन् । गत डिसेम्बर १५ तारिखका दिन इष्ट लन्डनको फरेष्ट गेट क्षेत्रमा अन्तिमपटक देखिएका शंकर त्यसयता साथीभाई, परिवार कसैको सम्पर्कमा नआएको बुझिएको छ ।

नेपालीलिंकसंग सम्पर्कमा आएको शाहको नेपालस्थित परिवारले झण्डै तीन सातादेखि हराइरहेका शंकरको खोजीमा सघाइदिन बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेको छ ।

शंकरका काका पर्ने उमेश साहका अनुसार कमजोर आर्थिक अवस्था रहेको शंकरको परिवारले ऋणधन गरेर गत सेप्टेम्बर महिनामा मात्रै उनलाई अध्ययनका लागि बेलायत पठाएको थियो ।

इन्जिनियरिङ म्यानेजमेन्टमा एमएस्सी गर्न लन्डन आएका शंकर आफ्नो गाउँतिरकै एक साथीका साथ इष्ट ह्याममा बस्दै आएका थिए । तर बेपत्ता बन्नुअघि संगै बस्दै आएका साथीसंग छुट्टिएर केही दिन उनी इष्ट लन्डनको फरेष्ट गेटस्थित एक होटलमा बसेका थिए । सोही होटलबाट उनी हराएका हुन् ।

शंकर सम्पर्कविहिन बनेको कयौं दिनपछि उनको पासपोर्ट लन्डन इष्ट ह्यामकै सडकमा उनका साथीहरुले फेला पारेको समेत जनाइएको छ ।

विपीपी युनिभर्सिटी नेपाली सोसाइटी अध्यक्ष मंगेश झाले बेलायत आएको केही महिनासम्म पनि जागिर नपाउँदा शंकर निराश बनेका र आफूसंग आएर समेत उक्त निराशा शेयर गर्ने गरेको जानकारी दिए । काम नपाएकै तनावले शंकरलाई मानसिक रुपमा समेत असर गरेको तथा त्यसैको कारण उनी रक्सी र अन्य कुलतमा फसेको हुन सक्ने ठानिएको छ ।

लन्डनस्थित नेपाली दूतावासले हराइरहेका शंकरबारे अहिलेसम्म कुनै पनि जानकारी वा सूचना प्राप्त नभएको जनाएको छ ।

बेलायत पढ्न आएको छोरा तीन सातादेखि सम्पर्कविहिन बनेपछि नेपालमा रहेको शंकरको परिवार अहिले ठूलो पीडामा परेको छ । शंकर परिवारका एक्ला छोरा हुन् भने उनका बाबु गल्फ कन्ट्रीमा कार्यररत छन् । ऋणधन गरेर बेलायत पठाएको छोरा एकाएक बेपत्ता हुंदा उनकी आमा अहिले ठूलो चोटमा परेकी छन् ।

शंकरको खोजीमा सहयोग गरिदिन र उनलाई भेटे वा उनका बारेमा कुनै सूचना पाए खबर गरिदिन बेलायतमा बस्ने सबै नेपाली र संघसंस्थासमक्ष शंकरको परिवारले आग्रह गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू