तमुधिं यूके लन्डन इकाई १८औं वार्षिक उत्सव तथा ल्होछार मनाउने तयारीमा



लन्डन । तमुधिं यूके लन्डन इकाई आउंदो जनवरी १० तारिख शनिबार आफ्नो १८औं वार्षिक उत्सव तथा तमु ल्होछार मनाउने तयारीमा जुटेको छ ।
लन्डन ग्रीनफोर्ड टाउनहलमा कार्यक्रम तय भएको हो । ल्होछार कार्यक्रमको अन्तिम तयारी पूरा भइसकेको महासचिव रक गुरुङले जनाए । तमु जातीहरुले ल्हो अर्थात वर्ग चक्र फेरिने क्रममा यस वर्ष सर्प वर्गलाई विदाई तथा त ल्हो (घोडा) वर्गलाई स्वागत गर्दै ल्होछार मनाउन लागेका हुन् ।
तमुधिं यूके (केन्द्र) ले गत डिसेम्बर २७ तारिख तमु ल्होछार (नयां वर्ष) मनाइसकेको छ । लन्डन इकाईले आयोजना गर्ने ल्होछार कार्यक्रमको संस्करणलाई ल्होछार समापनका रुपमा मानिने परम्परा रहेको महासचिव गुरुङले बताए ।
उक्त कार्यक्रममा तमुधिं यूकेको विशेष निमन्त्रणमा बेलायत आएका कलाकारहरु नेपाल आइडलकी फष्ट रनरअप सलोमी गुरुङ, म्यूजिक कम्पोजर एवं गायक केश बहादुर गुरुङ र अर्का गायक तिलक गुरुङको प्रस्तुति रहनेछ । स्थानीय कलाकारहरुले समेत विविध सांस्कृतिक प्रस्तुति गर्नेछन् ।
यस महान पर्वका अवसरमा गुरुङ समुदायले विशेष गरि स्वादिष्ट परिकार खांदै एक ठाउंमा भेला भएर हर्षोल्लासका साथ मनाउने गरेको तमुधिं लन्डन इकाईका परिकल्पनाकार अध्यक्ष डेभिड गुरुङले जनाए । उनले बेलायतवासी सबैलाई कार्यक्रममा सहभागी भएर भरपुर मनोरन्जन लिन पनि अपिल गरेका छन् ।
तमुधिं लन्डन इकाईले बेलायतमा रहेका तमु एवं गैर तमुहरुलाई सहभागिताका लागि निमन्त्रणा गरेको छ ।



